मानव अधिकार आयोगको मन्त्री यादवलाई निर्देशन, ‘हिंसालाई बढवा दिने अभिव्यक्ति नदोहोर्‍याउनु’



काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवलाई भविष्यमा हिंसालाई बढवा दिने खालको अभिव्यक्ति नदोहोर्‍याउन निर्देशन दिएको छ । बिहिबार आयोगले मन्त्री यादवलाई बोलाएर छलफल गर्दै यस्तो निर्देशन दिएको हो ।

छलफलमा आयोगका अध्यक्ष तपबहादुर मगर र सदस्यहरुले मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भावमा खलल पुर्‍याउने खालको र उत्तेजनापूर्ण अभिव्यक्ति दिनु गलत हुने बताएका थिए ।

मन्त्री यादवले गत माघ ५ गते समाजवादी युवा संघले रौतहटमा आयोजना गरेको श्रद्धाञ्जलि सभामा गौर हत्याकान्ड दोहोरिने चेतावनी दिएकी थिइन् । उनले उक्त अभिव्यक्ति जनमत पार्टीको अध्यक्ष सिके राउतप्रति लक्षित गरेको थियो । २०६३ चैत ७ मा रौतहटमा तत्कालिन नेकपा माओवादीले आयोजना गरेको कार्यक्रममा मधेशी जनअधिकार फोरमका कार्यकर्ताले आक्रमण गरेका थिए । उक्त घटनामा माओवादीका २७ जना कार्यकर्ताको मृत्यु भएको थियो ।

छलफलको क्रममा मन्त्री यादवले आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित भएको तर, कसैप्रति लक्षित नभएको दाबी गरेकी थिइन् । उनले आफ्नो मनसाय हिंसा तथा मुठभेटको नरहेको पनि बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्