प्रधानमन्त्री देउवा र आइएफआरसीका महासचिवबीच भेट



काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासँग रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) का महासचिव जगन्नाथ चापागाईँले भेटवार्ता गरेका छन् ।

भेटवार्ता मानवीय सेवा र रेडक्रस कानुनका विषयमा केन्द्रित रहेको बताइएको छ । मंगलबारदेखि नेपाल भ्रमणमा रहेका चापागाईँले नेपालमा रेडक्रस कानुन बनाउन आवश्यक रहेका देउवालाई बताएका छन् ।
उनले बुधबार सभामुख अग्निप्रसाद सापकोटा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीसँग छुटाछुट्टै भेटवार्ता गरेका थिए ।

उनी आइएफआरसीका प्रथम नेपाली महासचिव हुन् । विगत २५ वर्षदेखि रेडक्रस अभियानमा क्रियाशील चापागाईँ दुई वर्षदेखि यो जिम्मेवारीमा छन् । सन् २०१९ डिसेम्बर ३ मा बसेको आइएफआरसीको विशेष गभर्निङ बोर्ड बैठकको बहुमतले एसियाबाटै पहिलोपटक महासचिव निर्वाचित गरेको थियो ।

महासचिव निर्वाचित भएपछिको उनको यो पहिलो नेपाल भ्रमण हो । अहिलेसम्म विश्वका १ सय ९२ मुलुक आइएफआरसीका सदस्य छन् । बोर्डमा विश्वका विभिन्न २९ शक्तिशाली देश पनि सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्