अन्तर्वार्तामा छुटेकालाई परीक्षामा सहभागी हुने मौका



काठमाडौं । रोजगारीका लागि इजरायल जान लिखित परीक्षा उत्तीर्ण भए पनि अन्तर्वार्तामा छुटेका ५१ जनाले परीक्षामा सहभागी हुने मौका पाएका छन् ।
वैदेशिक रोजगार विभागले किरिया तथा सुत्केरीलगायतका कारणले विगतमा अन्तरवार्तामा छुटेकालाई सहभागी हुने अवसर मिलाएको हो ।
प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको शुक्रबार बसेको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले र वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले सो जानकारी दिए ।
विभागले लिएको लिखित परीक्षामा छ हजार ३१७ सहभागीमध्ये दुई हजार ३९ लिखित परीक्षामा उत्तीर्ण भएका थिए ।
विभागले यही असोज १ गतेदेखि ३ गतेसम्म उचाइ र तौलको परीक्षा लिएकामा त्यो बीचमा छुटेका व्यक्तिलाई अन्तवार्ता अवधिभरलाई अवसर दिइएको छ ।
छुटेका परीक्षार्थी आवेदन लिएर भोलि (शनिबार)सम्म अन्तरवार्तामा सहभागी हुन पाउने भएका हुन् ।
विभागका महानिर्देशक काफ्लेले भने, “कुनै कारण विशेषले छुटेकालाई पुनःआवेदन दिएर सहभागी गराउन सकिनेछ ।”
विभागले इजरायल जान चाहने परीक्षार्थीलाई अन्तर्वार्ता निष्पक्ष गराउनका लागि फरक दिन फरक व्यक्तिलाई जिम्मेवारी दिएको महानिर्देशक दिपक काफ्लेले बताए ।
आठ वटा समूहमा ५२ जनाले अन्तवार्ता लिइरहेका छन् ।
९ हजार ६ सय ९९ जनाले फाराम भरेकामा २ हजार ७ सय ९० जनाको कागजात नपुगेको महानिर्देशक काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्