जनकपुर–जयनगर रेल्वे चलाउन कांग्रेस उपसभापति निधिले गरे प्रधानमन्त्रीको ध्यानाकर्षण



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले जनकपुर–जयनगर रेल्वे तत्काल सञ्चालनका लागि सरोकारवाला निकायहरूलाई निर्देशन दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार भेटेर उपसभापति निधिले रेल सञ्चालन र उद्घाटनका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् ।
प्रधानमन्त्री देउवासँग निधिले नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीद्वारा संयुक्त रुपमा रेल्वे उद्घाटनको व्यबस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देशन दिन अनुरोध गरेका थिए ।
उनले भारत सरकारको सहयोगमा बनेको रेल्वे सञ्चालनका लागि नेपाल सरकारले इन्धन र डब्बा खरिद गरिसकेको स्मरण गराउँदै लामो समय सञ्चालनमा नआउँदा बिग्रने अबस्थामा पुगेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
कांग्रेस उपसभापति निधिकाअनुसार भेटमा प्रधानमन्त्री देउवाले जनकपुर–जयनगर रेल्वे सञ्चालनको तयारी अघि बढाउनु पर्नेमा आफू सकारात्मक भएको भन्दै तयारी अघि बढाउन आवश्यक निर्देशन दिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्