कमलपोखरी पुनर्निर्माणको काम ९५ प्रतिशत सम्पन्न



काठमाडौं । कमलपोखरी पुनर्निर्माणको पहिलो चरणको काम करीब ९५ प्रतिशत सम्पन्न भएको छ ।
कमलपोखरीको निरीक्षणका सिलसिलामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले करीब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।
काठमाडौँ महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष भरतलाल श्रेष्ठसहित निरीक्षणका लागि शुक्रबार कमलपोखरी पुगेका शाक्यले केही समय अनावश्यक विवादका कारण काममा केही अवरोध भए पनि अहिले सुन्दर पोखरी निर्माण हुने चरणमा पुग्दा खुशी लागेको बताए ।
उनले पानी पुनर्भरण र पानी शुद्धिकरण गर्ने योजनासहित पोखरी पुनर्निर्माण गरेको स्मरण गराए ।
मेयर शाक्यले महानगरपालिका क्षेत्र भित्र रहेका सबै पोखरीहरुको प्रवर्द्धन र संरक्षण गर्ने महानगरपालिकाको अभियान रहेको बताए ।
उनले काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यही अनुरुप काम अघि बढेको पनि बताए ।
सहरी योजना आयोगका उपाध्यक्ष बस्नेतले कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिए ।
करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी वास्तुशास्त्रमा आधारीत भएर निर्माण भैरहेको पनि पनि बस्नेतले बताए ।
उनले परम्परागत नेवारी शैलीलाई आत्मसाथ गर्दै पोखरी पुर्ननिर्माण गरेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्