स्वास्थ्य मन्त्रालयको दाबी : ओमिक्रोनको संक्रमण दर घट्यो



काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाईरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगिता कौशल मिश्रले नेपालमा कोरोना भाईरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिएकी हुन् । आज न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उहाँले पहिले एक जना मान्छेमा भएको भाईरस ३ जनामा सर्ने गरेकोमा अहिले त्यो दर विस्तारै घटिरहेको स्पष्ट पारेकी हुन् ।

प्रवक्ता मिश्रले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यहरुमा पनि ओमिक्रोनको संक्रमण दर घटीरहेको र त्यसको प्रभाव नेपाल परेको तथ्य पनि स्मरण गराएकी छिन् । उनले स्वास्थ्य सतर्कता अपनाएकै कारण यसको संक्रमण दर घटेकाले यसको पालना गर्न पनि सबै नागरिकलाई पुनः सचेत गराईन् । प्रवक्ता मिश्रले भनिन्, ‘पहिल्लो डेटाको अनुसार नेपालमा अहिले इन्फेक्सनको दर घटेको देखिन्छ ।

भाईरसले संक्रमण गर्ने दर जुन पहिले थियो, जस्तो एउटा भाईरसले कुनै एउटा प्रदेशमा एउटा संक्रमित मान्छेले ३ जनालाई संक्रमित गथ्र्यों भने त्यो दरचाँही अव विस्तारै घटिराखेको छ । र, यो अवस्था सबै प्रदेशमा छ । संक्रमण दर डिक्रिजिङ अवस्थामा छ । अनि मैले के जोड्न चाहे भने हाम्रो संक्रमण दर इन्डिया र चाईनासँग सधैं जोडेर हेरेका छौं हामीले । अनि इन्डियामा पनि आन्ध्र प्रदेशबाहेक सबै राज्यको संक्रमण दर विस्तारै घटिराखेको छ । सोही अनुसार हाम्रो पनि संक्रमण दर घटिराखेको छ । तथापि सतर्कता अनिवार्य छ । बढि सतर्कता अपनाएर पनि यसको दर घटेको हुन सक्छ । स्वास्थ्य मापदण्ड अपराउने, भिडभाँडमा नजाने र खोप लगाउने काम गर्नु प¥यो । हाम्रो प्रक्षेपण चाँही के छ भने यसको दर घट्दो अवस्थामा छ ।’

यस्तै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन अभाव नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता मिश्रले नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था गरिएको बताएकी हुन् । उनका अनुसार खोपको अभाव हुन नदिन प्रदेश स्तरमै भण्डार केन्द्रहरुको व्यवस्था भएको र हुँदै गएको छ । त्यसैगरी सो खोप लगाउने काममा पनि कोही नागरिक नछुटून भनेर सरकारले नागरिकता लगायतका डकुमेन्टहरु नहुँदा पनि खोप लगाउन पाउने व्यवस्था गरेको प्रवक्ता मिश्रले स्पष्ट पारेकी छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न पनि सबै नागरिकलाई पटकपटक अपिल गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्