सहकारी ठगी मुद्दामा संलग्न लेखा समिति संयोजक महर्जन पक्राउ



काठमाडौँ । सहकारी ठगी मुद्दामा मुछिएका लेखा समितिको संयोजक पंचमान महर्जन पक्राउ परेको छन् । उनलाई बिहिबार प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट परिचालित भएका टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो ।

काठमाडौँको कालिमाटीस्थित साईनिङ स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड ठगी मुद्दाका उनीसहित प्रतिवादी सहकारीको पदाधिकारीमाथि मुद्दा परेको थियो ।

उनीमाथि सहकारीमा जम्मा गरेको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार चार सय ७८ रुपैयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई सो संस्थाका पदाधिकारीहरु र संचालकहरुलाई आर्थिक लाभ हुने गरी तोकिएको प्रयोजन बाहेकको ब्यापारिक कारोबार र आफन्तका नाममा जग्गा खरिद गरी ठगी गरेको आरोप लागेको थियो।

उक्त मुद्दामा संस्थाका लेखा समिति संयोजक रहेका महर्जनसमेतले ऋण प्रवाह तथा असुली गर्दा त्रुटी गरेको र ठगीमा संलग्न भएको ठहर गर्दै काठमाडौँ जिल्ला अदालतले गत २०७३ असार १९ मा प्रतिवादी महर्जनलाई ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्