सेनाले खुलायो अवरुद्ध राजमार्ग



काठमाडौँ : हिमपातका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग नेपाली सेनाले खुलाएको छ । बिहीबारदेखि अवरुद्ध बनेको राजमार्गअन्तर्गत सतबाँझ-गोठलापानी खडकखण्ड नेपाली सेनाले हिउँ पन्छाएपछि आज मध्याह्नपछि खुलेको हो । उक्त सडकखण्डको हिउँ पन्छाउन हनुमानध्वज गुल्मबाट उपसेनानी बालाराम बुढाथोकीको नेतृत्वमा ६० जना नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो ।

राजमार्ग खुलाउन बिहानदेखि सेनाको टोली खटिएको र पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि हिउँ पन्छाउन पुगेको थियो । हिउँ पन्छाएपछि उक्त सडकखण्डमा रोकिएका सवारी साधन र यात्रु आ-आफ्नो गन्तव्यतिर लागेका हनुमानध्वज गुल्मका गुल्मपति सेनानी खिलबहादुर रानाले बताएका छन् ।

सतबाँझ- गोठलापानी सडकखण्ड सञ्चालनमा आएको भए पनि यहाँका अन्य राजमार्ग अझै अवरुद्ध रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन् ।

यहाँको अनारखोली, खोड्पे क्षेत्रमा परेको हिउँले दशरथचन्द राजमार्ग, सतबाँझ, धरमघर क्षेत्रको हिउँले महाकाली राजमार्ग र श्रीभावर, ढोल्यामोड क्षेत्रको हिउँको जयपुथ्वी राजमार्गको यातायात सेवा अझै ठप्प रहेको हो ।

प्रतिक्रिया दिनुहोस्