पदाधिकारी चयन गर्न प्रचण्ड सक्रिय, कसलाई बनाउँलान् महासचिव ?



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको पदाधिकारी चयन गर्न सक्रिय भएका छन् । प्रचण्डले पदाधिकारी चयन गर्न पार्टीको केन्द्रीय समितिको बैठकअघि सहमति जुटाउन नेताहरुसँग छलफल गर्न लागेका छन् । प्रचण्डले नेता नारायणकाजी श्रेष्ठलाई मुख्य प्राथमिकतामा राखेर छलफललाई अघि बढाएका छन् ।

त्यसबाहेक केन्द्रीय सदस्य र सहयोद्धाहरुसँग राय सुझाव लिन प्रचण्ड व्यस्त रहेका छन् । प्रचण्ड सहमतिमै पदाधिकारी चयन गर्ने भन्दै त्यसको गृहकार्यमा लागेका छन् । प्रचण्डको यो स्पिडलाई धेरै केन्द्रीय सदस्यहरुले साथ दिएका छन् । तर, सहमति नभएको आवस्थामा भने मतदानमा जाने विकल्प पनि पार्टीभित्र खुला रहेको छ ।

पार्टीको गत पुस १८ गते सम्पनन आठौँ राष्ट्रिय महाधिवेशनको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई सर्वासहमतिमा चयन गरेपनि बाँकी पदाधिकारीको विषयमा भने कुनै निर्णय भएको छैन । वर्षमान पुन चीनमा उपचार गराई रहेको अवस्थामा अध्यक्ष प्रचण्डले नै पुनको उपस्थितिपछि मात्र पदाधिकारी चयन गर्न प्रस्ताव गरेपछि बाँकी पदाधिकारी चयनको प्रक्रिया रोकिएको थियो ।

अहिले पार्टीभित्र महाचिवको विषयमा मुख्य गरी विवाद रहेको छ । महासचिवको लागि वर्षमान पुन र अर्को नेता जनार्दन शर्माको दाबी मुख्य रहेको छ । पुन चीनबाट माघ १० गते फर्कि सकेका छन् ।

माओवादीको विधानमा २९९ सदस्यीय केन्द्रीय समितिको व्यवस्था भए पनि महाधिवेशनले २३७ जना केन्द्रीय सदस्य मात्रै चयन गरेको छ। ती मध्येबाट माओवादीले अध्यक्ष, वरिष्ठसहित ७ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्षसहित १५ सदस्यीय रहने व्यवस्था छ । केन्द्रीय पदाधिकारी, स्थायी समिति, र पोलिटब्युरो गठन गर्ने जिम्मेवारी केन्द्रीय समितिलाई छ।

प्रतिक्रिया दिनुहोस्