गृहनगरमा गच्छदारले सारे निर्वाचन मिति



इटहरी । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको गृहनगर सुनसरीको दुहवीमा चुनावी प्रतिस्पर्धा हुने भएपछि निर्वाचन मिति सारिएको छ । दुहवी नगरपालिकामा कांग्रेसको १४ औं महाधिवेसनका लागि सभापतिका आकांक्षी दुई जनाबाहेक गच्छदारले सहमति गराएर तेस्रो व्यक्तिलाई सर्वसम्मत बनाउन प्रयास गरेपनि सम्भव नभएपछि चुनाव हुने मिति सारेका हुन् ।
दुहवी नगर सभापतिको लागि शुरुवातदेखि नै मेयर वेदनारायण गच्छदार र खेम नारायण चौधरी सभापतिमा उठ्ने घोषणा गरेर चुनावी प्रचारमा लागेका थिए । दुवै जना विजय गच्छदारका आफन्त हुन् । तर पछिल्लो समय वेद भने वरिष्ठ नेता पौडेल पक्षीयमा लागेका छन् । विजय काँग्रेसका सभापति शेरबहादुर देउवा पक्षधर हुन् । विजयले आफ्नो पकड भएको क्षेत्रमा आफ्नै समूहलाई मात्र स्थान दिने गरेका छन् ।
वेदले विजयको प्रस्ताव अस्वीकार गरेसँगै निर्वाचनलाई प्रभावित पार्नका लागि मिति सारिएको नेपाली काँग्रेस जिल्ला कार्यसमितिले सुनसरीको जिकिर छ । दुहवीमा वेदले विजयको प्रस्ताव अस्वीकार गरेसँग चार जनामा सभापतिको लागि उम्मेदवारी परेको निर्वाचन अधिकृत सूर्य निरौलाले बताए । सभापतिमा वेद, टेकचन्द विश्वास, तारिकचन्द सरदार र रमेशकुमार चौधरीको उम्मेदवारी परेको हो । जसमा वेद र टेकचन्दबीच प्रतिस्पर्धा हुने भएको छ । तारिकचन्द र रमेश भने गुटगत रुपमा कम खुलेका छन् ।
जिल्लाका अन्य स्थानमध्ये बर्जु गाउँपालिकामा कृष्ण संग्रैला, गढीमा कमलनारायण चौधरी र हरिनगरमा नुनु अनसारी सर्वसहमत विजयी भएका छन् । कोशीमा सुलेमान अनसारी विजयी भएका छन् भने अन्य स्थान धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, बराह, इनरुवा तथा रामधुनी नगरपालिकामा भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्