प्रदेश १ सरकारको तीन महिना उपलब्धिविहीन : एमाले



विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश १ को सरकार मन्त्रालय र मन्त्री भागबण्डाको झगडामा अल्झिएको आरोप लगाएको छ ।
शुक्रबार नेकपा एमाले संसदीय दलले पत्रकार सम्मेलन गरी ५ दलीय गठबन्धनको सरकार गठन भएको तीन महिना वितिसक्दासमेत मन्त्रालय र मन्त्री भागबण्डाको झगडामै अल्झिरहेको आरोप लगाएको हो ।
नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री भीम आचार्यले प्रदेश सरकार मन्त्रालय र मन्त्री भागबण्डाको झगडामा रुमलिइरहेका कारण गठन भएको तीन मिहना बितिसक्दा पनि कुनै काम गर्न नसकेको बताए । उनले भने, ‘जनताका समस्यामा सरकार बेखवर भएको छ । मल नपाएर किसान छटपटाइरहँदा सरकारको उपस्थिति कतै देखिँदैन । कोरोनाका कारण जनताले अकालमा ज्यान गुमाइरहँदा सरकार मुक दर्शक भइरहेको छ ।’
जनताका समस्यालाई ध्यान नदिइ कुम्भकर्ण जसरी प्रदेश सरकार सुतेको आचार्यको टिप्पणी छ । उनले अघिल्लो सरकारले तयार गरेका विकास र समृद्धिका आधारहरूलाई भत्काउने, बिगार्ने, समितिहरू विघटन गर्ने र बजेटविहीन बनाएर निश्प्रभावि बनाउने काममा सरकार लागिरहेको बताए। जनताको समस्याका बारेमा छलफल गर्ने संसदलाई विजनेशविहीन बनाएर सरकार मन्त्रालय फुटाएर विकास आयोजना कटौती गरी मन्त्रीहरूको भरणपोषण गर्ने काममा लागेको आचार्यले आरोप लगाए ।
भागबण्डा मिलाउन मन्त्रालय फुटाएर १२ पु¥याइएको विषयमा विपक्षी एमालेले सशक्त विरोध गर्ने आचार्यले स्पष्ट पारे । उनले भने, ‘विकास निर्माण र जनताका समस्या सम्बोधन छाडेर भागबण्डाकै लागि मन्त्रालय विभाजन गरेर फजुल खर्च बढाउने प्रयासको हामी सशक्त विरोध गर्छौं ।’ मन्त्रालय फुटाउनु अनावश्यक भार भन्दै उनले जनताको रहतको बजेट काटेर मन्त्रीलाई खर्च जुटाउनु जनताप्रति सरकारको गैरजिम्मेवारीपन भएको बताए । सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरू प्रदेशको नाम राख्नै हल्ला गरिरहे पनि सरकारले अहिलेसम्म नामाकरणको विषयमा कुनै छलफल नै नथालेको आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्