हिमपाले अवरुद्ध राजमार्ग नखुल्दा यात्रुलाई सास्ती



सुदूरपश्चिम : सुदूरपश्चिमका पहाडी जिल्लामा बाक्लो हिमपातका कारण अवरुद्ध भीमदत्त राजमार्ग तथा पहलमानसिंह स्वाँर राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। सुदूरका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गका विभिन्न ठाउँमा बाक्लो हिमपात भएका कारण सञ्चालन हुन नसक्दा यातायात सेवा दुई दिनदेखि ठप्प छ।

डोटीको सिलगढीदेखि अछामको साँफेबगर जोड्ने पहलमानसिंह स्वाँर राजमार्गको चौखुट्टेमा परेको हिउँ पन्छाए पनि राजमार्गमा ठूलो ढुङ्गा खस्दा गाडी चल्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका सह सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिएका छन्।

उनका अनुसार ढुङ्गा हटाउन डोजर मगाइएकाले ढुङ्गा हटाएपछि यो राजमार्ग सञ्चालनमा आउने छ। भीमदत्त राजमार्गको साहुँखर्क, हगुल्टे, गैरा, घण्टेश्वरलगायतका ठाउँमा बाक्लो हिमपात भएकाले यातायात सञ्चालनमा आउन नसकेको प्रहरी चौकी गैराले जनाएको छ।

राजमार्ग सञ्चालन नहुँदा अहिले सयौँको सङ्ख्यामा गाडी तथा यात्रुहरु अल्पत्रमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्