इलाममा कांग्रेसको नगर र गाउँपालिकामा नेतृत्व चयन



इलाम । नेपाली कांग्रेसले इलामका नगर र गाउँपालिकास्तरका पार्टी कार्यसमिति चयन गरेको छ । शनिबार भएको निर्वाचनपछि आइतबार बिहानसम्ममा जिल्लाका ४ नगर र ६ गाउँपालिकाकै नतिजा आएको छ ।
सदरमुकामसमेत रहेको इलाम नगरपालिकामा तीर्थ गुरुङ पार्टी सभापति भएका छन् । सुशीला सापकोटा र उर्मिला निरौला उपसभापति, वीरन्द्र कार्की र निराजन भट्टराई सचिव तथा प्रज्वल घिमिरे र वीरेन्द्र राई निर्वाचित भएका छन् । सदस्यहरूमा सहमति भएपनि पदाधिकारी सबैमा मतदान भएको थियो । नगर सभापतिका लागि ५ जनाले प्रतिस्पर्धा गरेका थिए ।
सूर्याेदय नगरपालिकामा जीवन नेपाल सभापतिमा निर्वाचित भए । माई नगरमा हेमबहादुर लिम्बू र देउमाई नगरको सभापतिमा दिलीप कार्की निर्वाचित भए । सन्दकपुर गाउँपालिकामा तुलाराम गुरुङ, माइजोगमाईमा नरेन्द्रकुमार देवान (राजेश), फाकफोकथुममा डिकबहादुर थापा, रोङमा हरि बुढाथोकी, माङ्सेबुङमा चन्द्र साम्बा निर्वाचित भए । यी पालिकामा मतदानबाट सभापति चयन भएका हुन् । चुलाचुली गाउँपालिकामा भने सर्वसम्मत रूपमा राजेन्द्र केरुङ सभापति छानिए । स्थानीय तहका कार्य समिति सदस्यहरू सबैजसोमा सहमति भएपनि पदाधिकारीमा मतदानबाट नेतृत्व टुंगो लागेको नेपाली कांग्रेस जिल्ला कार्य समितिले जनाएको छ ।
फाकफोकथुम गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ आफ्नै पालिकामा पराजित भएका छन् । कांग्रेस फाकफोकथुमको सभापतिमा उम्मेदवारी दिएका श्रेष्ठले तेस्रो स्थानमा चित्त बुझाए ।

प्रतिक्रिया दिनुहोस्