१८ महिनायता भत्ता नपाएको दमौली अस्पतालका चिकित्सकको गुनासो



दमौली : तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा कार्यरत चिकित्सकले १८ महिनादेखि प्रोत्साहन भत्ता पाएका छैनन् । अस्पतालमा कार्यरत चिकित्सकले विसं २०७७ साउनदेखि हालसम्म प्रोत्साहन भत्ता पाउन नसकेका हुन् ।

अस्पतालमा कार्यरत डा। आस्था रेग्मी, डा.राजु राना मगर, डा.दिवस ढकाल, डा.सुनयन सुवेदी, डा.सिन्चन पाण्डे, डा.पुजा सैजु, डा. प्रशन्न कार्की, डा.अभिनन्दन तिवारी, डा.सञ्जिव भण्डारी, डा.कृष्ण गिरी र डा.सुशील विकले १८ महिनादेखि प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका हुन् ।

अस्पतालमा छात्रवृत्ति करारमा कार्यरत चिकित्सकले गत असोज महिनादेखि तलब पनि पाएका छैनन् । तलब नपाएपनि चिकित्सकहरुले बिना पारिश्रमिक काम गरिरहेका छन् ।

कोभिड महामारीमा ज्यान जोखिममा राखी गरेको कामको लागि सरकारले जोखिमभत्ता दिने निर्णय गरेपनि अस्पतालमा कार्यरत चिकित्सकले भने भत्ता नपाएको गुनासो गरेका छन् ।

काम बापत निरन्तर पाउनुपर्ने तलबभत्ताको लागि बारम्बार ताकेता गर्दापनि अस्पताल विकास समितिबाट मौखिक आश्वासन दिने काम बाहेक अन्य केही हुन नसकेको अस्पतालका डाक्टर सिन्जन पाण्डेले बताए । लामो समयदेखि तलबभत्ता बिना काम गरिरहँदा पनि सुनुवाई नभएकाले चिकित्सक हतोत्साही भएको उनले बताए ।

तलबभत्ता निकासाका लागि पहल गरिदिन माग गर्दै अस्पतालमा कार्यरत करार चिकित्सकले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् ।

तलबभत्ता उपलब्ध नभएमा दैनिक कामकाज गर्न असमर्थ हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । दमौली अस्पतालका प्रमुख डा.सुनिल पौडेलले अस्पतालमा कार्यरत चिकित्सकलाई तलबभत्ता प्रदान गर्न पहल भइरहेको बताए । ‘बजेट निकासा नभएका कारण यो समस्या आएको हो, यसबारेमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराइसकेका छौँ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्