जयपृथ्वी राजमार्ग ३ दिनदेखी अवरुद्ध



बैतडी : सुदुरपश्चिममा दुई जिल्ला जोड्ने जयपृथ्वी राजमार्ग ३ दिनदेखी अवरुद्ध भएको छ । हिमपातका कारण बैतडी-बझाङ जोड्ने राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको हो । खोडपे, दुदिलाखान, ढोल्यामोड, श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँका कारण बिहीबार दिउँसोदेखि राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध हुँदा काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीबाट छुटेका र बझाङबाट बाहिरी जिल्लाका लागि छुटेका यात्रुवहाक तथा मालवहाक सवारी साधन बीच बाटोमै रोकिएका छन्। सवारी साधन रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । राजमार्ग खुलाउन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताएका छन् ।

बिहीबारदेखि नै अवरुद्ध रहेको दशरथचन्द राजमार्ग, र महाकाली राजमार्ग भने आज दिउँसोपछि सञ्चालनमा आएको छ । हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ। वर्षा र हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन र यो समयमा बालबालिका तथा वृद्धवृद्धाहरुलाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। साथै‚ लामो यात्रा ननिस्कन पनि आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्