सहमति नजुटेपछि प्रदेश २ मा लोसपा संसदीय दलको बैठक स्थगित



जनकपुरधाम । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको पहिलो बैठक स्थगित भएको छ ।
दलका नेता छान्नका लागि आइतबार जनकपुरस्थित सिटी स्टार होटलमा बैठक बस्ने भनिएको थियो । लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र प्रदेश साँसदहरु होटल पुगेका थिए ।
होटलमा पुगेका नेताहरुले दलको नेता कसलाई बनाउने कुरामा आन्तरिक सहमति जुटाउन सकेनन् । त्यसपछि बैठक स्थगित गरिएको हो । आन्तरिक तयारी नपुगेकाले बैठक स्थगित गर्नु परेको एक सांसदले बताए ।
सांसद परमेश्वर साहले भने, ‘संसदीय दलको विधान पारित भएको छैन । आज विधान बाँडिएको छ । सबैले अध्ययन गरिसकेपछि भोली सोमबारको बैठकमा विधान पारित गरेर दलका नेता चयन गर्ने प्रक्रिया सुरु हुन्छ ।’
सांसद एवं प्रदेश २ का पूर्वमन्त्री जितेन्द्र सोनललाई दलका नेता बनाउने सम्भावना बलियो छ । यद्यपी लोसपाका वरिष्ट नेता महतोका भतिजा नातामा पर्ने सांसद उपेन्द्र महतोले पनि दलका नेतामा दाबी गरेपछि शीर्ष नेतृत्वमा सहमति जुटाउन सकेन । प्रदेश २ मा लोसपाका १६ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्