भारत सरकारको सहयोगमा बाढी/पहिरो पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण



काठमाडौं । नेपाल–भारत महिलामैत्री समाजले सिरहा र सप्तरीका बाढी÷पहिरो पीडित परिवारका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । आइतबार राजविराजमा आयोजित एक कार्यक्रमकाबीच भारत सरकारबाट प्राप्त सहयोग समाजले करिब एक सय पीडित घरपरिवारलाई पुग्ने राहत सामग्री हस्तान्तरण गरेको हो ।
सप्तरी जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला प्रशासन प्रमुख जनार्दन गौतमलाई समाजकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले करिब ४२ लाख बराबरको राहत सामग्री पीडित परिवारलाई हस्तान्तरण गरेकी हुन ।
त्यस अवसरमा पीडितहरुको अस्थायी बसोबासका लागि ठूलो टेन्ट ३० वटा, सानो टेन्ट ५५ वटा, मझौला टेन्ट २५ वटा र प्लाष्टिकको गुन्द्री २०० वटा लगायतको सामग्री वितरण गरिएको हो ।
त्यस्तै, सिरहामा पनि सांसद चौधरीले राहत सामाग्री वितरण गरेकी हुन् । २० घर दलित (डोम परिवार) लाई एक÷एक बोरा टेण्ट प्रदान गरिएको हो । अन्य राहत सामाग्री सिरहाका सिडिओमार्फत वितरण गर्ने गरी हस्तान्तरण गरिएको हो । भारत सरकारले प्रदान गरेको सहयोग सामाग्री विभिन्न दश जिल्लामा वितरण गरिने भएको छ ।
सांसद चौधरीकाअनुसार अहिलेसम्म लुम्बिनी प्रदेशका रुपन्देही र नवलपरासीमा राहत सामाग्री वितरण गरिएको छ । त्यसैगरी, प्रदेश २ का पाँच जिल्लाहरु पर्सा, सर्लाही, धनुषा, सिरहा र सप्तरीमा पनि राहत सामाग्री वितरण गरि सकिएको छ । सोमबार महोत्तरीमा वितरण गरिने र त्यसलगत्तै बारा र रौतहटमा पनि राहत सामाग्री बाढि÷पहिरो पीडित परिवारलाई वितरण गरिनेछ । प्रत्येक जिल्लामा एक सय १० परिवारलाई टेन्ट र दुई सय म्याट्रेस प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्