ओमानसँग नेपाल ७-२ गोलले पराजित



काठमाडौँ : ओमानविरूद्धको मैत्रीपूर्ण खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको छ। कतारको दोहामा आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७–२ गोल अन्तरले पराजित भएको हो । ओमानले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा पाँच गोल गरेको थियो। ओमानका लागि फमी सइदले नवौ मिनेटमा, मोहसने गोहराले ३०औं मिनेटमा गोल गर्दा इसम अल शुभीले ४६ र मोहमद अल घसानीले ४९ मिनेटमा गोल गरे।

यस्तै अब्दुल्लाहजित अलमुक्बालीले ६० र ६५ मिनेट तथा जमिल अल यहमादीले ७६ मिनेटमा गोल गर्न सफल भए। नेपालले साफ च्याम्पियनसिपको तयारीका क्रममा मैत्रीपूर्ण खेल खेलेको हो। नेपाली टिम साफको तयारीका हाल कतारमा छ।साफ च्याम्पियनसिप आगामी असोज १५ देखि माल्दिभ्समा हुँदैछ। नेपाली टिम कतारबाट साफका लागि अब माल्दिभ्स जाने छ । आगामी अक्टोबर १ देखि १६ सम्म मालेमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपाल र माल्दिभ्सबीचको खेल १५ असोजमा हुनेछ । दोस्रो खेल १८ असोजमा श्रीलंकासँग खेल्नेछ । नेपालले तेस्रो खेल २४ असोजमा भारतसँग खेल्दा २७ असोजमा बंगलादेशसँग खेल्नेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि ३० असोजमा प्रतिस्पर्धा गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्