दशैंमा उपत्यकाबाट बाहिरिनेहरुका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला



काठमाडौँ : हिन्दु नेपालीहरुको महान चाड बडादशैंमा काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरुका लागि आजदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला भएको छ । दशैंका लागि उपत्यकाबाट बाहिरिनेहरुले आज (सोमबार)देखि अग्रिम टिकट बुकिङ गर्न पाउने भएका हुन् । यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि आजदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

गोंगबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि टिकट काउन्टसमेत थप गरिएको छ। गोंगबुमा ११ काउण्टर थप गरिएको विभागले जनाएको छ। अब गोंगबुमा टिकट काउण्टर संख्या ३२ पुगेको छ। दशैंमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा टिकट काउन्टर थप गरेको हो।

ती काउन्टरहरुमा कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बसको टिकट प्रदान गर्ने व्यववस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए। सरकारले दशैंका लागि सवारी साधनको नयाँ भाडादरसमेत निर्धारण गरिसेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन चल्दै आएका छन्। दशैंमा घर जान इच्छुक व्यक्तिहरु बिहानैदेखि टिकट लिन गोंगबुस्थित नयाँ बसपार्क पुगेका छन् । उनीहरुलाई दुरी कायम गरी लाइनमा राखेर अग्रिम टिकट बिक्री गरिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्