कानुनमन्त्री कार्की र बिहारका उपमुख्यमन्त्रीबीच छलफल



काठमाडौं : सिंघिया, केसलिया करिडोर र मीरगन्ज पुलको समस्या समाधानका लागि भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश नम्बर-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीबीच छलफल भएको छ।

नेपाल भ्रमणमा रहेका बिहारका उपमुख्यमन्त्री प्रसाद र मन्त्री कार्कीबीच भएको छलफलमा प्रदेश राजधानी विराटनगर हुँदै बग्ने दुई प्रमुख नदी सिंघिया र केसलियाको बाहिरसम्मको क्षेत्रमा तटबन्धनसहितको करिडोर निर्माण गर्ने विषयमा छलफल भएको हो।

त्यस अवसरमा मन्त्री कार्कीले हालै भारतको बथनाहामा अवस्थित मीरगन्ज पुलमा भएको क्षतिका कारण यस क्षेत्रका उद्योगी, व्यवसायीले ठूलो अप्ठेरो बेहोर्नुपरेको बताए। उनले नेपाल र भारतका नागरिकबीच सदियौँदेखि भाइचारा सम्बन्ध रहेको र नदीजन्य विपतिका कारण दुवैतर्फ उत्तिकै कठिनाइ हुने गरेको बताए।

मन्त्री कार्कीले प्रदेश–१ को राजधानी विराटनगर भएर बिहारतर्फ बग्ने सिंघिया र केसलिया नदीमा आउने बाढीले बिहारतर्फका जनतालाई समेत दुःख हुने भएकोले व्यवस्थित तटबन्धनसहितको करिडोर निर्माण गर्नुपर्नेमा जोड दिए।

बिहारका उपमुख्यमन्त्री प्रसादले प्रदेश–१ सरकारसँग मिलेर आफूहरूले धेरै काम गर्न सक्ने र दुवैतिरका नागरिकको हितमा यो अपरिहार्य भएको बताए। उठेका विषयलाई थप औपचारिक रूपमा दुई सरकारबीच छलफलमा लग्न मन्त्री कार्कीलाई पटना भ्रमणमा आउन निमन्त्रणा समेत दिए।

उनले मीरगन्ज पुलबाट सिर्जित समस्याको विषयमा आफू जानकार रहेको भन्दै यसको समाधानका लागि पहल गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्