नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशनमा चैतमा



काठमाडौं : लोकतान्त्रिक लेखक स्रष्टाहरूको संस्था नेपाली लेखक संघको सातौँ राष्ट्रिय अधिवेशन आगामी चैतमा हुने भएको छ ।

संघको केन्द्रीय समिति, सचिवालयको बैठकले संघको सातौँ राष्ट्रिय अधिवेशनआगामी चैत १८-१९ गते गर्ने निर्णय गरेको हो ।

अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लगि महासचिव डा.रत्नमणि नेपालको संयोजकत्वमा २१ सदस्यीय सातौँ राष्ट्रिय अधिवेशन मूल आयोजक समिति समेत गठन गरिएको छ ।

संघका केन्द्रीय सचिव नवीनचन्द्र घिमिरेलाई समितिको सदस्य-सचिव तथा वर्तमान कार्यसमितिका अध्यक्ष र उपाध्यक्षहरूलाई आयोजक समितिको सल्लाहकारको जिम्मेवारी तोकिएको छ ।

अधिकांश प्रतिनिधिहरूलाई पायक पर्ने गरी यथाशीघ्र अधिवेशनस्थलको टुंगो लगाउने संघका महासचिव तथा अधिवेशन मूल आयोजक समितिका संयोजक डा.नेपालले बताएका छन् ।

नेपाली लेखक संघको विधान, २०६४ लाई समय सापेक्ष बनाउन विधान संशोधनका लागि संघका पूर्वअध्यक्ष एवं सल्लाहकार डा. तुलसीप्रसाद भट्टराईको संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन मस्यौदा तर्जुमा समिति र नेपाली लेखक संघको मुखपत्र प्रकाशन गर्नका लागि संघका महासचिव डा.रत्नमणि नेपाल प्रधानसम्पादक रहने गरी ७ सदस्यीय सम्पादक मण्डल गठन गरिएको संघका अध्यक्ष श्रवण मुकारुङले बताएका छन् ।

सिर्जनशीलताका माध्यमबाट अभिव्यक्ति स्वतन्त्रता र प्रजातन्त्रका लागि निरन्तर पहरेदारी गर्ने ध्येयका साथ नेपाली लेखक एवं स्रष्टाहरूको साझा चौतारीका रूपमा रहेको नेपाली लेखक संघको स्थापना २००८ सालमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्