गठबन्धनको मूल उद्देश्य एमालेलाई समाप्त पार्ने : पोखरेल



काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको मूल उद्देश्य एमालेलाई समाप्त पार्ने मात्र रहेको बताएका छन् ।

प्रेस चौतारी नेपालको स्थापना दिवसको सन्दर्भमा शनिबार आयोजित कार्यक्रममा बोल्दै नेता पोखरेलले सत्ता गठबन्धनको मूल उद्देश्य एमालेलाई समाप्त गर्ने भन्नेमात्रै भएको आरोप लगाएका हुन् । ‘यो गठबन्धन एकातिर छ, अर्कोतिर नेकपा एमाले उभिएको छ । त्यसैले यो गठबन्धन विशुद्ध एमाले समाप्त गर्नुपर्छ भन्ने विशाक्त उद्देश्यले बनेको छ,’ उनले भने।’

उनले संविधान, मूल्यमान्यता र परम्परागत अभ्यासविपरीत बनेको गठबन्धनले देशवासीको आर्थिक समृद्धि र विकासको सपना पूरा गर्नुको सट्टा देश विकास गर्नुपर्छ भन्ने सपनालाई मूर्छित पार्ने काम गरिरहेको आरोप लगाए ।

नेता पोखरेलले एमालेनिकट पत्रकारहरू ‘टु इन वान’ हुनुपर्ने बताए । ‘तपाईंहरू पत्रकार हो, त्यसैले तपाईंहरुसँग पत्रकारिताको पेसागत सीप, क्षमता, दक्षता र मर्यादा अनिवार्य छ,’ उनले भने, ‘तबमात्रै तपाईंहरूले नेकपा एमालेलाई समर्थन गरेको अर्थपूर्ण हुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्