आफ्नै साझेदारको हत्या गर्न १५ लाखको ‘कन्ट्र्याक्ट’



काठमाडौं : जग्गा कारोबारी अनिल मण्डलले एक युवालाई १५ लाखको ‘कन्ट्र्याक्ट’ दिएर तीन जना व्यावसायिक साझेदारको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

३ जना व्यवसायीको हत्या गरेको आरोपमा मोरङ प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ। यी सँगै हत्यामा संलग्न रहेको आरोपमा पक्राउ पर्ने ५ जना पुगेका छन् भने अझ केही पक्राउ पर्न सक्ने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जर्नादन जिसीका अनुसार, हिजो साँझ मोरङको रंगेली नगरपालिका ३ का ३० वर्षीय मोहम्मद सुभान मियाँ र सुनसरीको देवागञ्ज गाउँपालिका ६ का १८ वर्षीय हकिम मन्सुरीलाई पक्राउ गरिएको छ। “नियन्त्रणमा लिएका पाँचमध्ये २ जनाले घटनामा आफ्नो संलग्नता स्विकारेका छन्,” जीसीले भने। संलग्नता अस्वीकार गरेका तीन जनामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

यसअघि सिराहा नगरपालिका २१ घर भई काठमाडौंको बल्खुमा बस्दै आएका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका९४ सिस्बनीका २९ वर्षीय अमित भनिने दिनानाथ साह र धनपालथान गाउँपालिका९७ कमलपुर पश्चिमटोलका ६२ वर्षीय नासिर आलमलाई पक्राउ गरिएको थियो।

कस्तो अवस्थामा भेटिए शव ?

१२ माघमा काठमाडौंको क्षेत्रपाटीमा बस्दै आएका सप्तरीको शम्भुनाथ ४ का ३२ वर्षीय शम्भुकुमार चौधरीको शव मोरङको धनपालथान९७ को उखु खेतमा भेटिएको थियो। त्यसको भोलिपल्ट १३ माघमा त्यही स्थानमा भक्तपुर बस्ने धरान ३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको शव भेटिएको थियो।

दुवै शव पाँच फिट गहिरो खाल्डो खनेर गाडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दुवै जना व्यावसायिक पार्टनर थिए।

त्यस्तै, तेस्रो व्यावसायिक पार्टनर काठमाडौंको गोठाटार बस्ने तेह्रथुमको संक्रान्ति २ का ६३ वर्षीय मोहन लिम्बूको २० माघमै गोदावरी १२ ठेचोमा उसै गरी गाडेर माथिबाट ढलान गरेको अवस्थामा शव भेटिएको थियो।

यी तीन जनासँगै बल्खुमा बस्दै आएका सिराहा नगरपालिका-२ का अनिल मण्डल व्यावसायिक पार्टनर थिए। उनले नै ठेचोकी स्थानीय दीप्ति गुरुङको गोदामघर अनलाइन कारोबारका लागि भन्दै भाडामा लिएका थिए। तीन महीनाअघि भाडामा लिएको भए पनि खाली राखिएको थियो। त्यही गोदामघर परिसरमा गाडेको अवस्थामा मोहनको शव भेटिएको हो।

प्रहरीका अनुसार, मोहनको २८ मंसीरमा, राजेन्द्रको ५ पुसमा र शम्भुको ७ पुसमा हत्या गरिएको थियो। तीनै जनाको घाँटीमा डोरी र गम्छाले कसेर हत्या गरिएको पाइएको छ। तीनै शव एउटै प्रकृतिले गाडिएका थिए। यससँगै शव सडाउन नूनको प्रयोग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्