ट्राफिक प्रहरीलाई सडकमा सास्ती



काठमाडौं । कार्यालयको काम होस् या घुमफिर नै किन नहोस् उपत्यकामा ट्राफिक जामको समस्या सबैले बेहोर्नु पर्छ । यसको कारण हो उपत्यकामा बढेको सवारी साधनको चाप । आफ्नो महत्वपूर्ण समय ट्राफिक जाममा बसेर धेरैले बिताइरहेका हुन्छन् । जब कोही कुनै पट्यारलाग्दो जाममा घन्टौँ बस्न पुग्छ अनि सबैले ट्राफिक प्रहरीमाथि रिस पोखिरहेका हुन्छन् ।

उपत्यकाको सडकको अवस्था कस्तो छ ? सडकमा खटिने ट्राफिक प्रहरीको संख्या कति रहेको छ ? एउटा ट्राफिक प्रहरीले कति संख्यामा सवारी साधन हेर्नुपर्छ साथै कतिसडक हेर्नुपर्छ ? धेरै सर्वसाधारणले ख्याल गरेका हुँदैनन् । बढ्दो जनसंख्या र सवारीचाप अनुरूप सडक व्यस्थापन हुन नसक्दा सडकमा खटिने ट्राफिक प्रहरीले सास्ती खेप्नुपर्छ ।

काठमाडौं उपत्यकामा उच्च चाप हुने र सामान्य अवस्थामा ७५० जति ट्राफिक प्रहरी सडकमा हुन्छन् । ट्राफिक महाशाखाका अनुसार अवस्थाअनुसार सडकमा ट्राफिक प्रहरी खटिने भएकोले ठ्याक्कै यकिनका साथ भन्न नसकिए पनि दैनिकजसो एक पटकमा ७५० जना जति सडमा हुन्छन् । आपत्कालीन अवस्थामा र विशिष्ट व्यक्तिको सवारीका समयमा सडकमा खटिने ट्राफिक प्रहरीको संख्या भने केही बढी हुने महाशाखाका प्रहरी उपरीक्षक जनक भट्टराई ले जानकारी दिए। काठमाडौं उपत्यकाभित्र मात्रहाल १५ सय ट्राफिक प्रहरी कार्यरत छन् ।
बिहान ९ देखि ११ बजेको समयमा सवारीसाधनको चाप बढी हुने भएकोले सडकमा ट्राफिक प्रहरीको संख्या पनि बढी हुन्छ । हाल उपत्यकाभित्र मात्र दैनिक लगभग १२ लाख सवारीसाधन गुड्ने गरेका छन् । उपत्यकाका १ हजार ५९४ किलोमिटर सडक छ । एक ट्राफिक प्रहरीले करिब ५ सय मिटरमा ट्राफिक व्यवस्थापन गर्नुपर्ने महाशाखाको भनाइ छ ।

महाशाखाको अनुसार एउटा ट्राफिक एकाइको जिम्मामा करिब साढे ४५ किलोमिटर सडक पर्छ । उपत्यकाको ट्राफिक व्यवस्थित गर्न थप ७ सय ट्राफिक प्रहरीको खाँचो रहेको महाशाखाको भनाइ छ । सवारी साधनको चापअनुरूप प्रहरीको संख्या निकै न्यून रहेको उपरीक्षक भट्टराई ले बताए । सडक मर्मतसम्भारसँगै सवारी साधनको चाप हेरेर ट्राफिक प्रहरीको संख्या बढाउन आवश्यक रहेको उनको भनाइ छ ।
सडकको अवस्थाअनुसार सवारी साधनको चाप थेग्न अहिले उपत्यकामा ट्राफिक प्रहरीको संख्या अत्यन्तै कम रहेको महाशाखाको भनाइ छ । ट्राफिक प्रहरीको संख्या त कम छदै छ, प्रहरीलाई सडक व्यवस्थापन गर्न चाहिने अति आवश्यक प्रविधिको पनि अभाव छ । ट्राफिक लाइट, जेब्रा क्रस, आकाशे पुल आवश्यकताअनुसार छैनन्। २०६८ सालदेखि हालसम्म उपत्यकाभित्र मात्र सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या १६ सय ५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्