एनभीए भलिबल : आज पुलिस, गल्कोट, हेल्प नेपाल र गण्डकी प्रदेशको जित



काठमाडौँ : छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ आज भएको खेलमा विभागीय टिम नेपाल पुलिस, गल्कोट स्पोर्ट्स, हेल्प नेपाल र गण्डकी प्रदेशले जित निकालेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार मणिमुकन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले लगातार दोस्रो जित निकालेको हो । पुलिसले मणिमुकुन्दले २५–१४,२५–१५ र २५–१७ को सेटमा पराजित गर्‍यो ।

च्याम्पियनसिप अन्तर्गत सोमबार नै भएको खेलमा गल्कोट स्पोर्ट्स क्लबले जित निकालेको छ । समूह ’ए’ को गल्कोटले प्रदेश २ माथि २५–२३,२५–२१ र २५–१८ को जित निकाल्यो । गलकोटका यो दोस्रो जित हो । पहिलो खेलमा गल्कोटले बागमती प्रदेशलाई हराएको थियो ।
त्यस्तै, साविक विजेता हेल्प नेपाल र गण्डकी प्रदेशले विजयी सुरुआत गरेका छन् । बागमती प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै हेल्प नेपालले सुखद् सुरुआत गरेको हो ।

हेल्पले बागमतीमाथि २५–१६,२५–१३ र २५–१२ को सेटमा जित निकाल्यो । गण्डकी प्रदेशले दावाली मिलन क्लबलाई ३–१ को सेटमा पराजित गर्‍यो । गण्डकीले दावालीमाथि २५–१२,२५–२२,२०–२५ र २७–२५ को सेटमा जित निकालेको हो । नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । महितातर्फको खेल भने मंगलबारबाट मात्र सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्