साफ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली माले प्रस्थान



काठमाडौँ : अर्को सातादेखि सुरु हुने साफ च्याम्पियनसिप २०२१ मा सहभागी हुन नेपाली टोली माल्दिभ्स प्रस्थान गरेको छ । लगभग दुई साता कतारको दोहामा प्रशिक्षण गरेपछि नेपाली टोली उतैबाट सोमबार माल्दिभ्सको राजधानी माले प्रस्थान गरेको हो ।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पछिल्लो दुई सातायता कतारमा रहेको २५ सदस्यीय टोलीबाट गोलरक्षक विकेश कुथु र डिफेन्डर राजन गुरुङलाई बाहिर राख्दै टोली घोषणा गरेका थिए ।

प्रशिक्षण क्रममा चोट बोकेपछि विकेश अन्तिम टोलीमा पर्न सकेनन् । साफ च्याम्पियसिप तयारीका लागि आइतबार नेपालले ओमानविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । सो खेलमा नेपाल ओमानसँग ७–२ को फराकिलो गोल अन्तरले पराजित भयो ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने छ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८ गते खेल्ने छ । त्यस्तै, तेस्रो खेलमा भारतसँग असोज २४ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ मा खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्