गण्डकी प्रदेशसभाले मनायो चौथो वार्षिकोत्सव



पोखरा । गण्डकी प्रदेशसभाले शनिबार चौथो वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गण्डकी प्रदेशले राज्य निर्माणका लागि ठूलो योगदान पु¥याएको स्मरण गरे ।
सङ्घीयताको मर्म र भावनालाई बुझेर अगाडि बढ्नु जरुरी रहेको बताउँदै डा. भट्टराईले केन्द्रमुखी भावनाले सङ्घीयता मारमा परेको बताए ।
अब ४० प्रतिशत सङ्घ र ६० प्रतिशत रकम प्रदेश र स्थानीय तहमा जानुपर्ने भनाइ राख्दै भट्टराईले ठूला पूर्वाधार बनिसकेपछि केन्द्रमा २० र तल ८० प्रतिशत बजेट विनियोजन हुनुपर्ने तर्क गरे ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुलुकका तीन तहका सरकार स्थापनासँगै राज्यले नागरिकको नजिक पुग्ने प्रयास गरेको बताए । उनले प्रदेश सभाले यो अवधिमा गरेको उपलब्धिको सह्राना गर्दै अगाडि बढ्न आग्रह गरे ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभा अस्तित्वमा आएपछिका चार वर्ष सफलतापूर्वक बितेका बताए । सबै सदस्यहरूको अनुभव प्रयोग गर्दै सरल तरिकाबाट प्रदेशको नामकरण र राजधानी घोषणा गरेर परिपक्वता देखाएको उनको भनाइ थियो।
सभामुख नेत्रनाथ अधिकारीले शून्यबाट उठेर प्रदेशसभाले चार वर्षको अवधिमा ठूलो उपलब्धि हासिल गरेको भनाइ राखे। काम गर्ने सन्दर्भमा भएका कमजोरी सुधार गर्दै प्रदेशसभा अगाडि बढ्ने उनले बताए ।
तीन तहको निर्वाचन सकिएलगत्तै २०७४ माघ ७ गते प्रदेशसभा सदस्यहरूको शपथग्रहण भएको थियो भने माघ २२ मा पहिलो बैठक बसेको थियो ।
यो अवधिमा ८ अधिवेशन र २ वटा विशेष अधिवेशन भएका छन् । गण्डकी प्रदेश सभाले हालसम्म ५० वटा कानुन पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्