पहिचानवादी अधिकारकर्मी जसले माओवादी विद्रोह अवतरणमा भूमिका खेले



काठमाडौं  : काठमाडौं तत्कालीन माओवादीको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डको तस्वीर सार्वजनिक हुनुभन्दा पहिलाʻप्रचण्डʼ एउटा मिथक थियो । देशमा उथलपुथल ल्याउने माओवादी जनयुद्धको नेतृत्वकर्ता को हो भन्ने तमाम आशंका थिए । कसैले राजा ज्ञानेन्द्रलाई नै ʻप्रचण्डʼभन्ने त कसैले पद्मरत्न तुलाधरलाई । 

२०६२ सालमा भारतीय टेलिभिजन जी न्यूजले ओसामा विन लादेन भन्दा सर्वाधिक खोजिएका व्यक्ति प्रचण्ड भनेर पद्मरत्नको फोटो सार्वजनिक गरेको थियो । विदेशका केही पत्रिकाले पनि प्रचण्ड भन्दै पद्मरत्नको तस्वीर प्रकाशन गरेका थिए । 

वामपन्थी प्रगतिशिल आन्दोलनका इतिहास बनेका पद्मरत्न तुलाधरको उपचारको क्रममा ७८ बर्षको उमेरमा आइतवार काठमाडौंमा निधन भयो ।

मानवअधिकारवादी तथा पहिचानवादीको छवी बनाएका पद्मरत्नलाई नै विद्रोही नेकपा माओवादीका अध्यक्ष प्रचण्ड ठानेर सुरक्षाकर्मी र राज्यका सुराकीहरु पद्मरत्नको घर वरपर घुम्थे । 

मानव अधिकारकर्मीको नाताले पद्मरत्नले तत्कालीन विद्रोही माओवादीलाई शान्ति वार्तामा ल्याउन पहल गरेका थिए । 

माओवादी कार्यकर्तामाथि आक्रमण हुँदा बोल्ने गरेका कारण पद्मरत्नलाई कतिपयले ʻमाओवादी मानवअधिकारवादीʼको विल्ला समेत भिराए । पञ्चायतदेखि नै बिद्रोही स्वभावका पद्मरत्नले माओवादीलाई सहयोग गरिरहेको भन्ने राज्यको आरोप थियो । 

जनयुद्ध शुरु भएको केही वर्षपछि नै प्रचण्डले पद्मरत्नलाई फोन गरिरहन्थे । संकटकालको समयमा पनि ‘प्रचण्ड’ पद्मरत्नलाई भेटन पुगेका थिए । तर, त्यति बेलासम्म प्रचण्डलाई कसैले र नचिनेका कारण उनी सहजै त्यहाँबाट बाहिरिए । 

माओवादीलाई वार्ताको टेबलमा ल्याउने क्रममा पद्मरत्नले दिल्ली र लखनउको यात्रा गरे । दमननाथ ढुङ्गानालाई साथ लिएर पद्मरत्न प्रचण्डलाई भेट्न दिल्लीसमेत पुगेका थिए । त्यसपछि माओवादी र सरकारबीच वार्ताको प्रकृया शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्