आज श्रीपञ्चमी, सरस्वतीको पूजाआराधना गरी मनाइँदै



काठमाडाैं : हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज (आइतबार) गरिँदै छ। यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कापी, कलम, बाध्ययन्त्र लगायत साधनको पूजा गर्छन्।

विद्यालयमा विशेष रूपमा सरस्वतीको पूजा गर्ने गरेको यस वर्ष कोरोना महामारीका कारण विद्यालय बन्द रहेकाले घरघरमै विद्यार्थीले सरस्वतीको पूजा आराधना गर्दै छन्। यस अवसरमा लाजिम्पाटको निल सरस्वती, स्वयम्भूको सरस्वती मन्दिर, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड एवं देशभरका सरस्वती मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्छ। यस वर्ष स्वास्थ्य मापदण्ड पालना गरी पूजा आराधना गरिँदै छ। 

वसन्त श्रवण
यस अवसरमा हनुमान ढाकास्थित नासल चोकमा आज वसन्त श्रवण गरिँदै छ। वसन्त श्रवणको लागि बिहान १०:३० बजेको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
वसन्त श्रवणमा कवि जयदेवले रचना गरेको सरस्वतीसम्बन्धी श्लोक पाठ गर्ने परम्परा रहेको हनुमान ढोका दरबार हेरचाह अड्डा कार्यालयका प्रमुख सन्दीप खनालले जानकारी दिए।

यो पाठ १५ श्लोकको छ। आजका दिन वसन्त श्रवण गरिने भएकाले यो पर्वलाई वसन्त पर्व पनि भनिन्छ। वसन्त श्रवणमा राष्ट्राध्यक्ष, सरकार प्रमुख, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तित्वको नासल चोकमा उपस्थिति रहने चलन छ।

 

प्रतिक्रिया दिनुहोस्