चुनावपछि मात्रै एमसीसी अघि बढाउन गठबन्धन सहमति नजिक : पौडेल



काठमाडौं : शिक्षामन्त्री देवेन्द्र पौडेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई चुनावपछि मात्रै अघि बढाउन गठबन्धनका दलहरू सहमति नजिक पुगेको बताएका छन् ।

एमसीसी परियोजना विवादित बनेपछि संसदमा रहेका दलहरूबीच राष्ट्रिय सहमति कायम गर्नुपर्ने भएकाले एमसीसीका अधिकारीहरूसँग समय माग्ने कुरा पनि गठबन्धनमा भएको उनले बताएका छन् ।

आइतबार बिहान बाग्लुङमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले भने, ‘यथास्थितिमा एमसीसी पास गर्ने स्थिति छैन। सदन पनि चलेको छैन। दलभित्र एउटै धारणा छैन । त्यसो भएकोले एमसीसी यथास्थितिमा भन्दा पनि उहाँ (एमसीसीका अधिकारी) हरूसँग केही समय माग माग गरौं । त्यसैले चुनावपछि राष्ट्रिय सहमति कायम गरेर सदनभित्र रहेका दलहरूबीच कमसेकम राष्ट्रिय सहमति कायम गरेर मात्रै प्रक्रिया अगाडि बढाउने करिब-करिब सहमति भएको जानकारी गराउन चाहन्छु ।’

एमसिसीबारे छलफलका लागि मंगलबार संसद् बैठक बोलाइएको अवस्थामाझ मन्त्री पौडेलको यो अभिव्यक्ति आएको हो । उनले गठबन्धन एमसिसी पास गर्न नभएको पनि प्रस्ट पारेका छन् ।

जबकि, प्रधानमन्त्री शेरबहादुर देउवा भने १६ फागुनअघि संसदबाट एमसिसी परियोजना पारित गर्न लागिपरेका छन् । उनले गठबन्धनमा रहेका अन्य दलहरूमाथि पारित गर्न दबाब पनि दिन थालेका छन् । यस्तो अवस्थामा मन्त्री पौडेलको निर्वाचनपछि मात्रै एमसिसीको प्रक्रिया अघि बढाउने अभिव्यक्ति आउनु अर्थपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्