माओवादी नेता पुनलाई उपचारका लागि थाइल्याण्ड लैजाने तयारी



काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’लाई उपचारका लागि थाइल्याण्ड लगिने भएको छ। पुनलाई पुरानै रोग जन्डिस बल्झिएपछि उपचारका लागि विदेश लैजान लागिएको हो। सुमेरु अस्पतालमा उपचारत पुनको स्वास्थ्यमा कुनै सुधार नभएपछि थाइल्याण्ड लाने तयारी गरिएको माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए ।

‘अहिलेसम्म स्वास्थ्यमा सुधार भएको छैन। आज दिनभरी सबै रिपोर्टको अध्ययन गरिने छ। दिनभर स्वास्थ्यमा कुनै सुधारका संकेत नदेखिए थाइल्याण्ड लग्ने तयारी छ’, सापकोटाले भने ‘चिकित्सकले सकेसम्म नेपालमै उपचार गरेर निको बनाउने प्रयास गर्नु भएको छ। स्वास्थ्यमा सुधार नभए उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ । नेता पुन लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित छन् ।

चार वर्ष पहिले पनि उनलाई बैंककको समितिभेज अस्पतालमा उपचार गरी ल्याइएको थियो । त्यसअघि नयाँदिल्लीमा र थापाथलीस्थित नर्भिक अस्पतालमा उनले उपचार गराएका थिए । फेरि पनि स्वास्थ्यमा समस्या देखिएपछि आइतबार सुमेरु अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्