प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, ८ मन्त्रीले लिए शपथ



काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद्मा आठ सदस्य थप गरेका छन्। मुख्यमन्त्री राईले कांग्रेसबाट ३, एकीकृत समाजवादीबाट तीन र नेकपा माओवादी केन्द्रबाट दुई जनालाई मन्त्री नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त ८ जना मन्त्रीलाई शपथ ग्रहण गराएका छन्। खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका उपनेता रामकुमार राई, कृषिमन्त्रीमा माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगरले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

यस्तै, सामाजिक विकासमन्त्रीमा (एकीकृत समाजवादी)का राजन राई, पर्यटन तथा संस्कृतिमन्त्रीमा एकीकृत समाजवादीका खिनु लङ्वा लिम्बु र यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा उपेन्द्र घिमिरेले शपथ लिएका हुन् ।

कांग्रेसबाट वन, वातावरण तथा भू-संरक्षणमन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्रीमा प्रकाशप्रताप हाङ्गाम र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा ओमप्रकाश सरावगीले शपथ ग्रहण गरेका हुन्।

मन्त्रिपरिषद् विस्तारपछि प्रदेश १ मा कांग्रेसका ५, नेकपा (एकीकृत समाजवादी)का ४, माओवादीका ३, जसपाका १ मन्त्री तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १ जना राज्यमन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्