प्रदेश, ३ का मुख्यमन्त्री पौडेल विद्युतीय गाडी चढ्ने



 

मकवानपुर :   प्रदेश, ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय गाडी प्रयोग गर्ने भएका छन् । उनका लागि आइतबार सुविधायुक्त गाडी हेटौंडा ल्याइएको हो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्रदेश ३ मा पेट्रोलियम सवारीसाधन प्रतिबन्ध लगाउने उल्लेख गरेसँगै आफैबाट प्रतिबद्धता सुरु गर्ने बताएका थिए । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र उर्जा मन्त्री वर्षमान पुनले विद्युतीय गाडी चढ्दै आएका छन् ।

सार्वजनिक यातायातमा विद्युतीय साधन प्रयोगलाई प्रोत्साहन गरी वातावरण मैत्री बनाउने अभियानअन्तर्गत मुख्यमन्त्रीले अभियान सुरु गरेका हुन् । चीनमा उत्पादन गरिएकोे बिवाइडी गाडीको मूल्य ५५ लाख पर्ने मन्त्रिपरिषद कार्यालयले जनाएको छ । गाडीमा भएको ब्याट्री १० वर्षसम्म वारेन्टी रहेको छ । गाडीलाई २ घण्टा चार्ज गर्दा ४ सय किलोमिटर गुड्ने उत्पादक कम्पनीले दाबी गरेको छ ।

प्रदेश सरकारले विद्युतीय बस पनि सञ्चालन गर्ने तयारी भएको बताएको छ । पहिलो चरणमा हेटौंडा–नारायणगढ सञ्चालन हुने गाडी निकट भविष्यमा रसुवा–हेटौंडामा पनि सञ्चालन गरिने जनाइएको छ । वातावारण स्वच्छ कायम गर्न भरपर्दो माध्यम भएकाले विद्युतीय गाडीको प्रवद्धृन गर्नु पर्ने मुख्यमन्त्री पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्