पाँचखाल स्मार्ट सिटीको अध्ययन अमेरिकन कम्पनी जेएलएलले गर्ने



काभ्रेपलाञ्चोक : पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को अध्ययन अमेरिकन कम्पनीले गर्ने भएको छ । त्यसका लागि नगरसँग सम्झौता गरेको काठमाडौंस्थित इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा)ले अमेरिकाको जेएलएल नामक संस्थालाई बजार अध्ययन गर्न लगाउने भएको हो ।

निफ्राले काभ्रेपलाञ्चोकको पाँचखाल नगरसँग गत साउन १२ गते नगरलाई ‘स्मार्ट सिटी’ बनाउने सहकार्यमा सात शर्तसहितको सम्झौता गरेको थियो । सार्वजनिक–निजी साझेदारीमा (सवल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।

नगरप्रमुख महेश खरेल र बैंकका कार्यकारी अधिकृत रामकृष्ण खतिवडाद्वारा हस्ताक्षरित सम्झौतामा स्मार्ट सिटीका लागि व्यवस्थित गर्नुपर्ने र पूर्वाधारलगायत निजी–साझेदारी माध्यमबाट नगरलाई स्मार्ट बनाउने विषयमा सात बुँदे सम्झौता गरिएको थियो ।

करिब चार हजार ५०० रोपनी क्षेत्रफलमा निर्माण गरिने स्मार्ट सिटीका लागि पूर्वाधार निर्माणार्थ करिब रु दुई अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । कूल क्षेत्रफलमध्ये ६५० रोपनी जमिन नगरले आफ्नो स्वामित्वबाट उपलब्ध गराउनेछ ।

बैंकका कार्यकारी अधिकृत खतिवडाका अनुसार निफ्राले आफ्नो सञ्चालक समितिको स्वीकृतिमा जेएलएल संस्थालाई बजार अध्ययनको जिम्मा दिने भएको छ ।

निफ्राले जेएलएलको प्रतिवेदनपछि स्मार्ट सिटीको थप विस्तृत अध्ययनको काम अघि बढाइने जनाएको छ । जेएलएलले करिब दुई महिना अध्ययन गर्नेछ ।

निफ्राले स्मार्ट सिटीको विकासका लागि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय जनता तथा सरोकारवालासँग छलफलसमेत गरेको जनाइएको छ‘ल्याण्ड पुलिङ मोडल’मा विकसित हुने स्मार्ट सिटीका लागि नगरले प्रशासनिक र जमिन व्यवस्थापनको काममा सघाउने तथा पूर्वाधार निर्माणको खर्च निफ्रा र उसका साझेदार संस्थाले गर्ने नगरप्रमुख महेश खरेलले बताएका छन् ।

उनका अनुसार निफ्राले त्यस कार्यका लागि विदेशी तथा स्वदेशी निर्माण कम्पनीसँग साझेदारी गर्दै प्रक्रियालाई निरन्तरता दिनेछ । विकसित मुलुकमा स्मार्ट सिटीलाई सूचना प्रविधिसँग जोडिएको हरित सहरका रूपमा बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्