जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आग्रह



काठमाडौं । जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्न मधेशी आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको छ ।
मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्न तथा आवश्यक व्यवस्था यथाशीघ्र मिलाइदिन पत्रमार्फत् आग्रह गरेका हुन ।
यसका साथै अध्यक्ष दत्तले सप्तरीको सखड़ेश्वरी मन्दिरको सार्वजनिक व्यवस्थापन, तेस्रो शताब्दीमा बनेको र पुरातात्विक महत्व रहेको राजविराजस्थित राजदेवी मन्दिर, सप्तरीकै बलान–बिहुल गाउँपालिका ३ मौवाहाको करिब २ सय बर्ष पुरानो लक्ष्मीनारायण मन्दिरको आवश्यक विकास तथा व्यवस्थापन, धनुषा जिल्लाको धनुषाधाम, महोत्तरीको जलेश्वरनाथ, सर्लाही र रौतहट जिल्लाको मध्यमा रहेको नुनथर, वारा जिल्लाको गढीमाई, मोरंगको विराटनगरसहित विराट दरवार, बाँके जिल्लाको नेपालगञ्जस्थित बागेश्वरी मन्दिर सहितका जिल्लाहरुको सांस्कृति स्थलहरुको उचित विकास गर्न पनि पत्रमा अध्यक्ष दत्तले आग्रह गरेका छन् । उनले यी सम्पदाहरुको संरक्षण गरी सांस्कृतिक तथा पर्यटनबाट मुलुकलाई आर्थिक बल पुग्ने गरी विकास गरिदिन समेत पत्रमा उल्लेख गरेका छन् । अध्यक्ष दत्तले सो क्षेत्रहरुको आफै स्थलगत अनुगमन समेत गरेको पत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्