दिल्लीमा खुले विद्यालय : रातिको कफ्र्य भने जारी



एजेन्सी : भारतको राजधानी दिल्लीमा आजदेखि विद्यालयहरू सञ्चालनमा आएका छन् । आज बिहान ९ देखि १२ वर्षसम्मका बालबालिका विद्यालय परिसरमा देखा परेका छन् । योसँगै कलेज, जिम, स्पा र स्विमिङ पुल पनि आजदेखि खुल्दैछन् । कोभिड-१९ को ओमिक्रोन भेरियन्ट सार्वजनिक भएको र बढ्दो केसका कारण डिसेम्बरमा विद्यालयहरू बन्द भएका थिए ।

लेफ्टिनेन्ट गभर्नर अनिल बैजलको अध्यक्षतामा दिल्ली आपत व्यवस्थापन प्राधिकरण (डीडीएमए) को बैठकपछि शुक्रबार यो निर्णय लिइएको हो। दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले शुक्रबार पत्रकार सम्मेलनमा फेब्रुअरी ७ बाट विद्यालय र कलेजहरू खोल्ने जानकारी दिएका थिए ।

दिल्लीमा रातिको कर्फ्यू भने जारी नै रहने भएको छ । अबदेखि दिल्लीमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लाग्नेछ । यसबाहेक आजरदेखि सबै सरकारी तथा निजी कार्यालयहरू शतप्रतिशत क्षमतामा सञ्चालन गर्न सक्नेछन् । तर, दिल्ली सरकारले विद्यालय खुलेपछि पनि हाइब्रिड कक्षाको विकल्प उपलब्ध हुने स्पष्ट गरेको छ । अर्थात्, कक्षाहरू अनलाइन र अफलाइन दुवै लिइनेछ।

प्रतिक्रिया दिनुहोस्