नेपालमा चिनियाँ अतिक्रमण रोक्न माग गर्दै राष्ट्रसंघीय कार्यालयमा ज्ञापनपत्र बुझाइयो



काठमाडौं । चीनले नेपालको भूमिमा अतिक्रमण गरेको भन्दै राष्ट्रसंघीय कार्यालयलाई ज्ञापनपत्र बुझाइएको छ ।
राष्ट्रिय एकता अभियानले सोमबार काठमाडौंस्थित राष्ट्रसंघको कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । एकता अभियानका अध्यक्ष विनय यादवले काठमाडौंस्थित राष्ट्रसंघको कार्यालयकाख सूचना अधिकारी राजेन्द्रमान बनेपालीलाई उक्त ज्ञापनपत्र बुझाएका हुन् ।
नेपालमा चिनियाँ अतिक्रमण भएको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको अभियानले जनाएको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘एकता अभियानले नेपालको चिनियाँ अतिक्रमणविरुद्ध लगातार लोकतान्त्रिक र कानूनी तबरमा विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। अभियानले चीनसँगको नेपालको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय समुदायलाई भूमिका खेलिदिन आग्रह गर्दछौं ।’
ज्ञापनपत्रमा चीन अतिक्रमित भूमिबाट फिर्ता जानुपर्ने, अन्तर्राष्ट्रिय समुदायको निगरानीमा नेपाल र चीन सरकारले संयुक्त सीमा निरीक्षण गर्नुपर्ने र सबै सीमास्तम्भहरुको जीपीएस राख्दै यसको रेकर्ड दुवै सरकार र अन्तर्राष्ट्रिय समुदायले राख्नुपर्ने माग गरिएको छ ।
उक्त ज्ञापनपत्रमा काठमाडौंस्थित अमेरिकी दूतावास, नेपालस्थित युरोपियन युनियनका प्रतिनिधि, काठमाडौं रुसी दूतावास, चिनियाँ दूतावास र भारतीय दूतावासलाई यसको बोधार्थ पठाइएको छ ।
सरकारले यसअघि हुम्ला जिल्लामा नेपाल चीन सीमा क्षेत्रलाई लिएर गत वर्ष उत्पन्न भएको विवादबारे गृहमन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा अध्ययन गर्न समिति गठन गरेको थियो ।
उक्त समितिले अध्ययन प्रतिवेदन गृहमन्त्रालयलाई बुझाएको छ । उक्त प्रतिवेदनमा चिनियाँ पक्षले सीमा अतिक्रमण गरेको उल्लेख गर्दै दुवै पक्ष मिलेर समाधान गर्नुपर्ने सुझाइएको थियो । उक्त प्रतिवेदन अहिले परराष्ट्र मन्त्रालयलमा थन्काइएको छ ।

प्रतिक्रिया दिनुहोस्