नेपाल सहकारी बैकको दर्ता प्रक्रिया शुरु



काठमाडौं । नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अगाडि बढेको छ । प्रस्तावित बैकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रस्तावित बैकको अवधारणापत्र र सम्भाव्यता अध्ययनको विषयमा नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद लामिछाने, डेपुटी गभर्नरलगायत उच्च अधिकारी समक्ष प्रस्तुतीकरण गरेका थिए ।
नेपाल राष्ट्र बैकमा आयोजित कार्यक्रममा उनले राष्ट्र बैकले तोकेअनुसारको सबै प्रक्रिया पूरा गरी प्रस्ताव तयार गरिएको जानकारी दिए । प्रतिस्पर्धात्मक मुलुकमा एउटा मात्र बैकले करिब ३० हजार सहकारीको कारोवार र अन्य आर्थिक क्रियाकलाप गर्न नसक्ने भएपछि नेपाल सहकारी बैक दर्ता प्रक्रिया शुरु गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा प्रस्तावित बैकका प्रमुख सल्लाहकार एवम् आनन्द ढुंगानाले प्रस्तावित बैक अपरिहार्य रहेको उल्लेख गर्दै दर्ता प्रक्रिया अविलम्ब अघि बढाउन आग्रह गरे । सो अवसरमा नेपाल राष्ट्र बैकका गभर्नर लामिछानेले चाडै नै प्रक्रिया अघि बढाइने आश्वासन दिए ।
प्रस्तावित बैंकले यसअघि गएको पुस २२ गते सहकारी विभागका रजिष्ट्रार, उप रजिष्ट्रार लगायतका अधिकारीलाई प्रस्तावित बैकको अवधारणापत्र प्रस्तुत गरेको थियो । बैक तदर्थ समितिका अध्यक्ष भण्डारीले अनु्मतिपत्र पाए लगत्तै बैक सञ्चालनमा आउने बताएका थिए ।
साढे दुई अर्ब रुपियाँ चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापी रुपमा विस्तार गरिने उनको भनाई थियो । सहकारी ऐन २०७४ को दफा १२ मा सहकारी बैंकले संस्था वा सङ्घको बचत स्वीकार गर्ने, त्यस्तो संस्था वा संघलाई ऋण प्रवाह गर्ने वा बैंकिंग सेवा उपलब्ध गराउने उद्देश्य लिई सस्था वा सङ्घ आपसमा मिलि नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिई सहकारी बैङ्कहरू गठन गर्न सकिने व्यवस्था गरिएको छ ।
सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ ले स्पष्ट व्यवस्था गरे अनुसार बैक दर्ता प्रक्रिया शुरु भएको हो । सहकारी ऐन र नियमावलीमा भएको व्यवस्था अनुसारको प्रक्रियाहरु पूरा गरे पछि सहकारी विभागमा दर्ता गरी नेपाल राष्ट्र बैंकको अनुमती लिएर बैँकिंग कारोबार सुरुवात गर्ने प्रावधान छ । सोही प्रावधान अनुसार बैक दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्