स्थानीय तहको निर्वाचन वैशाख ३० गते



काठमाडौँ । सरकारले २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाँणले भने, ‘निर्वाचन आयोगले जेठ ४ गते निर्वाचन गराउने प्रस्ताव गरेको थियो, सरकारले वैशाख ३० गते एकै चरणमा स्थानीय तह निर्वाचन गराउने निर्णय गरेको छ । वैशाख ३० गते वा जेठ ४ गर्दा कानुनमा खासै परिमार्जन गर्नु नपर्ने जानकारी निर्वाचन आयोगले गराएको छ ।
मन्त्रिपरिषद्को बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगका पदाधिकारीसँग यसबारे परामर्श गरेको थियो । आयोगका पदाधिकारीहरूले वैशाख ३० गतेका लागि निर्वाचन मिति उपयुक्त हुने सुझाव दिएका थिए ।
आयोगले यसअघि जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो । बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि वैशाख ३० गतेका लागि निर्वाचन मिति तय गरिएको जानकारी दिए ।

आयोगले आगामी ५ जेठमा सात सय ५३ स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले १७ र २१ वैशाखमा निर्वाचनको मिति सरकारलाई प्रस्ताव गरेको थियो ।

तीन प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्षको आइतबारको बैठकपछि स्थानीय तहको निर्वाचनको मिति सरकारले तोकेको हो । यसअघि २०७४ को स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्