कमल थापा पार्टी एकताकै पक्षमा रहेको राप्रपा उपाध्यक्ष प्रधानको दावी



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दावी गरेका छन् ।
पूर्वअध्यक्ष थापाले सोमबार काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका उपाध्यक्ष प्रधानले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा थापा पार्टी एकताकै पक्षमा रहेको बताएका हुन् ।
उनले महाधिवेशनले दिएको जिम्मेवारीलाई बहन गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूहरु प्रतिवद्ध रहेको पनि बताए । त्यसका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको भूमिका सबैभन्दा बढी हुने उपाध्यक्ष प्रधानको भनाइ थियो ।
उनले पार्टीलाई एकतावद्ध बनाएर लैजान आफू लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उपाध्यक्ष प्रधानले भने, ‘उहाँले पार्टी फुटाउने सोच्नु भएको जस्तो मलाई लागेको छैन । महाधिवेशनले निर्वाचित गरेको हुनाले मेरो दायित्व पार्टीलाई एकतावद्ध बनाएर लैजाने हो । त्यो दायित्व निर्वाचित अध्यक्षको पनि हुन्छ । हामी पार्टी एकताको पक्षमा छौँ । एकतावद्ध भएर लैजाने प्रतिवद्धता व्यक्त गर्दछु ।’
पार्टीकी महामन्त्री कुन्ती शाहीले पनि पार्टी विभाजनको पक्षमा पूर्वअध्यक्ष थापा नरहेको बताइन् । उनले पार्टी नेतृत्वले विगतमा पार्टीमा दुःख गरेका कुनै पनि नेता, कार्यकर्तालाई पार्टीभित्र समेटेर लैजानुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्