हावाहुरीपीडित भन्छन्, ‘सेना आउँदा सास फेर्न पाइयो’



कञ्चनपुर : एक साताअघि कञ्चनपुर र कैलालीमा आएको हावाहुरीले यहाँका बस्तीहरुमा ठूलो धनजनको क्षति पुर्यायो। हावाहुरीका कारण सयौँ घरहरु क्षतिग्रस्त भएका छन् भने कतिपय बस्तीहरुमा बिजुलीका पोलहरु भाचिँदा स्थानीयवासी अन्धकारमा दैनिकी काट्न विवश भएका छन्।

क्षतिको एकिन विवरण संकलन भइरहेका बेला बुधबार बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका ५५ वर्षीया दानी ओडले कच्ची घरको माथि त्रिपाल मिलाइदिइरहेका नेपाली सेनाको टोलीलाई सामान दिएर सहयोग गरिरहेको अवस्था भेटियो। ‘हावाहुरीले घरको छाना उडाएर उठिबास लाग्यो।’

हावाहुरीबाट घाइते भएकी श्रीमतीलाई देखाउँदै ओडले भने, ‘परिवारका अन्य सबै सदस्यहरुले खाटमुनि लुकेर ज्यान जोगाए।’ कञ्चनपुरका हावाहुरीले सबैभन्दा बढी कृष्णपुर नगरपालिकामा क्षति पुर्याएको तथ्यांक छ। हावाहुरीले पूर्णरुपमा क्षति पुर्याएपछि त्यहाँका पीडितहरु अहिले पनि छिमेकी र खुल्ला आकाशमुनी रात बिताउन बाध्य भइरहेका छन्।

‘राहतको नाममा यही एउटा त्रिपाल वडा कार्यालयबाट मिलेको छ’, ओडले भने, ‘घरभित्रको अन्न भिजेर काम नलाग्ने भएपछि किनेर खादैछौँ।’ उनले हावाहुरीपछि सेना बस्तीमा आउँदा गाउँलेहरुलाई निकै राहत पुगेको बताए। ‘सेना आएर अवरुद्ध सडक खुलाउनेदेखि घरका छानाहरु बनाइदिने काममा अहोरात्र खटिएको छ’, उनले भने, ‘सेनाकै सहयोगले घरको त्रिपालको छानो बनेर मुश्किलले सास फेर्न पाएको छु।’

पूर्ण रुपमा क्षति पुगेका स्थानीयवासीलाई गाँसबासको समस्या बल्झिँदै गएको उनको भनाइ छ। ‘खुल्ला आकाशमुनि सुत्दा बालबालिकाहरु लामखुट्टेको टोकाइले बिरामी पर्न थालिसके’, उनले भने, ‘सिंहदरबार अझै गाउँमा आएको भन्नु बेकार रहेछ।’ त्यसैगरी कृष्णपुर नगरपाकिला–६ कै ३८ वर्षीय तिलक भट्ट दम्पतीसहित घरमा सहयोग गरिरहेको सेनाको टोलीसित काममा व्यस्त छन्।

‘घरको छाना उडाएर राति खाटमुनी पसेर चार जनाको परिवार बाच्यिौँ’, भट्टले भने, ‘अहिले सेना आएर छाना बनाउन सहयोग गर्दैछ।’ उनले सेनाले उद्दार लगायतका काममा सहयोग गरेको सुनेपनि गाउँमै आएर घरका छाना बनाउनेदेखि अहिले दिएको हरेक समस्या समाधानमा खटिएको देख्दा गाउँले हर्षित भएको बताए। ‘स्थानीय तहबाट त्रिपाल दिएको भए पनि अन्य राहत अहिलेसम्म केही आएको छैन’, उनले भने, ‘खरीद गरेर ल्याएको ३० किलोग्राम चामलले परिवारको भोक टार्दैछु।’

हावाहुरीले वडा नं ६ मा मात्रै ५० को हाराहारीमा बिजुलीका पोलहरु भाचिँएका छन्। भने रुखहरु ढल्दा सडकसमेत अवरुद्ध भएको स्थानीयको भनाइ छ। ‘धन्न सेना आएर गाउँमा सडक खुलाएपछि आवतजावत गर्न सहज भएको छ’, स्थानीय रगि नगारीले भने, ‘क्षतिको विवरण संकलनबाहेक राज्यबाट अरु केही सहयोग पाएको छैन।’

स्थानीयवासी गंगाराम भट्टले स्कूलको छाना भत्किदा विद्यालय बन्द हुनुका साथै खानेपानी र बिजुलीको समस्याले यहाँका बासिन्दा आक्रान्त बनेको बताए। ‘जस्तापाता भएका घरहरु प्रायः सबैमा क्षति पुगेको छ’, उनले भने, ‘सेनाबाहेक अन्य सरकारी निकायबाट केही सहयोग भएन।’ त्यसैगरी मौरीफाँटाकै १८ वर्षीया मनिषा बोहरा हावाहुरीपछि छिमेकीको घरमा घाइते दिदी टिकेश्वरी बोहरासित आश्रय लिदैछिन्। उनका बुवा प्रेम बोहरा र आमा देवसरादेवी बोहरा हावाहुरीले छानो भत्किदा घाइते भएका थिए।

‘आमाको कोहलपुरमा उपचार हुँदैछ’,उनले भने,‘त्रिपालसमेत नपाउँदा घरमा बस्न सकिएको छैन।’ भत्किएका छानारटहरा पुनःनिर्माण गर्न नेपाली सेनाको सिंहसाशूल गुल्मको टोली कृष्णपुर नगरपालिकामा खटिएको छ। गुल्मबाट उपसेनानी चेतन छत्कुलीको नेतृत्वमा खटिएको सैनिक टोली विगत तीन दिनदेखि गाउँमा खटिएको छ। हावाहुरीपछि जिल्लामा बसेको सुरक्षा समितिको निर्णयानुसार सेनाले प्रभावित क्षेत्रमा सहयोगका लागि खटिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्