चार महिनादेखि अवरुद्ध मेची राजमार्ग सुचारु



इलाम । इलाम सदरमुकामस्थित धोबिधारा–कुलधाराबीचको साँघुरो खोल्सीभिरमा पहिरो झरेर छिनेको मेची राजमार्ग मर्मतपछि सुचारु भएको छ ।
सदरमुकामस्थित धोबिधारा–कुलधाराबीचको साँघुरो खोल्सीभिरमा पहिरो झरेर ४ महिनायता अवरुद्ध मेची राजमार्ग सोमबारदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको हो ।
पहिरो झरेको भित्तो कोपरेर एकतर्फी रूपमा सवारीका साधन गुड्न थालेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । कुलधाराबाट धोबिधारातर्फ दिउँसो र राति नै साना–ठूला सवारी साधन गुडाउन सक्ने भएपनि धोबिधाराबाट कुलधारापट्टि ओरालो कच्ची सडक रहेकाले राति केही जोखिम रहेको उनले जनाए ।
डिभिजन सडक कार्यालयले मर्मतको काम गरिरहेको छ । पक्की सडक बनाउन अझ केही महिना लाग्ने डिभिजन प्रमुख विदुर पोख्रेलले बताए ।
गत असोज १६ गते बिहान वर्षा नै नभएका बेला यहाँको करिब २० मिटर मेची राजमार्ग ८० प्रतिशतभन्दा बढी झरेको थियो । बाँकी सडक पनि चर्किएर जोखिम भएपछि ४ महिनादेखि सवारी साधन बन्द थिए । गत कात्तिक ४ गते अविरल वर्षापछि आएको पहिरोले यो भाग पूरै चुँडिएपछि राजमार्ग थप क्षतिग्रस्त भएको थियो । भिरको खोल्सीमा तलबाट अग्लो पर्खाल र ह्युमपाइप लगाएर निर्माण गरिएको राजमार्ग ह्युमपाइपसहित पहिरो झर्दा अवरुद्ध बनेको थियो ।
मेची राजमार्ग चुँडिएपछि पाँचथर र ताप्लेजुङबाट झापा आउ–जाउ गर्ने सवारी साधन बन्द थिए । वैकल्पिक मार्गका रूपमा इलामको जिरोकिलोमिटर–इलाम बजार–धोबिधारा सडक प्रयोग गरिएको थियो । तर, यो सडक साँघुरो भएकाले रातिमात्र मालबाहक सवारी साधन चल्दैथिए ।

प्रतिक्रिया दिनुहोस्