कहिले-कहिले भएको थियो स्थानीय तह निर्वाचन?



काठमाडौं । स्थानीय तहको आगामी निर्वाचन आगामी २०७९ वैशाख ३० गतेका लागि घोषणा भएको छ । सरकारले.नयाँ सालको पहिलो महिनामै एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो ।
नेपालमा स्थानीय तहको पहिलो निर्वाचन विसं २००४ जेठ २९ गते काठमाडौँ म्युनिसिपालिटी प्रारम्भ भएको इतिहास छ । नेपालको संविधान जारी भएपछि गाउँपालिका, नगरपालिका र जिल्ला समन्वयन समिति नाम कायम गरिएको छ । यसअघि स्थानीय तहलाई म्युनिसिपालिटी, नगरपालिका, गाउँ पञ्चायत, नगरपञ्चायत, गाउँ विकास समिति, नगरपालिका, जिल्ला पञ्चायत, जिल्ला विकास समिति आदि नामले चिनिँदै आएको निर्वाचन आयोगद्वारा प्रकाशित प्रश्नोत्तर पुस्तकमा उल्लेख छ ।
२००४ मा भएको काठमाडौँ म्युनिसिपालिटीको निर्वाचनपछि मुलुकमा नगरपालिका निर्वाचन २०१० भदौ १७ गते भएको थियो । त्यसैगरी स्थानीय निर्वाचन २०१४ माघ ७ गते, गाउँपञ्चायत निर्वाचन २०१८ फागुन ७ देखि विभिन्न मितिमा सम्पन्न भएका थिए ।
नगरपञ्चायत निर्वाचन २०१९ जेठदेखि विभिन्न मितिमा, जिल्लासभा र जिल्ला पञ्चायत निर्वाचन २०१९ देखि विभिन्न मितिमा, अञ्चालसभा र अञ्चल पञ्चायत निर्वाचन २०२० देखि विभिन्न मितिमा सम्पन्न भएका थिए ।
स्थानीय तह निर्वाचनकारूपमा २०३९ वैशाख २८ र ३१ तथा जेठ ३ र ४ गते गाउँ पञ्चायत तथा नगर पञ्चायत, २०३९ असार २ गते जिल्ला पञ्चायत, २०४३ साल चैत ७ र १० गते गाउँपञ्चायत तथा नगरपञ्चायत एवं २०४४ साल वैशाख २६ गते जिल्ला पञ्चायतको निर्वाचन भएको इतिहास छ ।
मुलुकमा प्रजातन्त्रको पुनः स्थापना भएपछि स्थानीय तहको निर्वाचनकारूपमा २०४९ जेठ १५ र १८ गते गाउँ विकास समिति तथा नगरपालिका निर्वाचन, २०४९ असार १३ गते जिल्ला विकास समिति निर्वाचन, २०५४ जेठ ४ र १३ गते गाउँपालिका र नगरपालिका निर्वाचन तथा २०५४ असार २७ गते जिल्ला विकास समितिको निर्वाचन भएको थियो । २०६२ माघ २६ गते पनि नगरपालिका निर्वाचन भयो ।
मुलुकमा २०६२÷६३ को जनआन्दोलनको उपलब्धिकारूपमा संविधानसभाबाट नेपालको संविधान जारी भएपछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थानीय तहको पहिलो निर्वाचन तीन चरणमा भएको थियो । २०७४ वैशाख ३१, असार १४ र असोज २ गते सो स्थानीय तहको निर्वाचन भएको हो । सिंहदरबारको अधिकार स्थानीय सरकारमार्फत जनताकै घरदैलोमा पु¥याउने उद्देश्यसहित भएको निर्वाचनमा ५७ राजनीतिक दलले भाग लिएकामा १८ राजनीतिक दलको स्थानीय तहमा प्रतिनिधित्व रह्यो ।
स्थानीय तहको निर्वाचनमा २३३ स्वतन्त्रसहित ३५ हजार ४१ जनप्रतिनिधिको निर्वाचित भएका थिए । त्यस निर्वाचनका लागि एक करोड ४० लाख ७४ हजार ४२४ मतदाता कायम भएकामा एक करोड चार लाख ८९ हजार २०४ अर्थात् ७४.५३ प्रतिशत मतदान भएका थियो । निर्वाचनमा राजनीतिक दलबाट ८३ हजार ८३६ पुरुष, ५६ हजार ४२७ महिला, २ तेस्रो लिङ्गी तथा स्वतन्त्रतर्फ ६ हजार ६८२ पुरुष, एक हजार ४१५ महिलासहित एक लाख ४८ हजार ३६४ उम्मेदवारले प्रतिस्पर्धा गरेको निर्वाचन आयोगले उल्लेख गरेको छ ।
उक्त स्थानीय तह निर्वाचनमा सबैभन्दा सानो १८ लहर र सबैभन्दा ठूलो ६८ लहरको मतपत्र कायम गरिएको थियो । आयोगले उक्त निर्वाचनका लागि १७ स्थानीय भाषामा निर्वाचन सूचना सामग्री बनाइएका थिए । मुलुकमा हाल छ महानगरपालिका, १२ उपमहानगरपालिका, २७५ नगरपालिका र ४६० गाउँपालिका गरी कूल ७५३ तह र छ हजार ७४३ वडा कायम छ ।

प्रतिक्रिया दिनुहोस्