३० वैशाखमा ७५३ सरकार



काठमाडौं । सरकारले २०७९ साल वैशाख ३० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगदेखि राजनीतिक दलसम्म निर्वाचन तयारीमा जुट्न थालेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेकै दिन निर्वाचन आयोगसँगै दलहरु पनि निर्वाचन केन्द्रित भएका छन् ।
निर्वाचन आयोगले एकै चरणमा गर्ने भए वैशाख १४ र दुई चरणमा गर्ने भए वैशाख १४ र २२ को मिति प्रस्ताव गरेकोमा सरकारले १६ दिन पछिको मिति तय गरेको हो ।
सत्तारुढ पाँच दलीय गठबन्धन भने जेठ मसान्तभित्र निर्वाचन गर्ने योजनामा थिए । सत्ता गठवन्धन दलको मनोविज्ञान बुझेको आयोगले जेठ ४ लाई प्रस्ताव गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाकै पहलमा आयोगले पछिल्लो पटक प्रस्ताव गरेको भन्दा ४ दिन अघिका लागि निर्वाचन मिति तय भएको हो ।
स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल २०७९ जेठ ५मा सकिदैँ छ ।
जेठ ४मा निर्वाचन गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मितिसहित निर्वाचनको घोषणा गरेको हो ।

तयारीमा जुट्यो आयोग

निर्वाचन मिति घोषणा भएलगत्तै निर्वाचन आयोगले व्यवस्थापीय तयारी तीव्र बनाएको छ ।
आयोगले आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनको प्रक्रिया सुरु गरेको छ ।
निर्वाचन घोषणा भएकै दिन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् आवश्यक भवन, सवारी साधन तथा फनिर्चरसहितका साधनको स्थानीय तहसँग विवरणका लागि पत्राचार गरेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।
मन्त्रालयमार्फत् गरिएको पत्राचारमा आसन्न स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचनको सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनार्थ करिव दुई महिना अवधिका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालन गर्न ७५३ वटै स्थानीय तहलाई पछि फरक नपर्ने गरी तयार गर्न लगाई उक्त विवरण एकीकृत गरी २०७८ माघ मसान्तभित्र अनिवार्य रुपमा उपलब्ध गराउन आयोगले आग्रह गरेको छ ।
त्यस्तै स्थानीय तह निर्वाचन, २०७४ मा निर्वाचन आयोगबाट उपलब्ध गराइएका ल्यापटप तथा प्रिन्टरहरुको विवरण समेत खुलाउन आयोगले भनेको छ ।

नामावली संकलन रोकियो

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ ।
आयोगकाअनुसार सोमबार दिनभर भएको मतदाता नामावली दर्ता भने मान्य हुनेछ । आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको हो ।
निर्वाचनको घोषणा गरेपछि त्यो निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नपाइने कानुनी व्यवस्था छ ।
निर्वाचनको मिति घोषणा भएको औपचारिक जानकारी पछि सोमबार बसेको आयोगको बैठकले नामावली संकलन रोक्न देशभरका जिल्ला निर्वाचन कार्यालयमा परिपत्र गर्ने निर्णय गरेको हो ।

एमाले खुसी

स्थानीय तह निर्वाचन गर्ने सरकारको निर्णयमा प्रमुख प्रतिपक्षी दल एमाले खुसी देखिएको छ ।
निर्वाचन मिति घोषणााई स्वागतयोग्य भनेको एमालेले निर्वाचन तयारीमा जुटेको बताएको छ ।
एमाले उपमहासचिव विष्णु पौडेलले मिति घोषणा स्वागतयोग्य भएको भन्दै अब एमाले निर्वाचन तयारीमा जुटिसेको जानकारी दिए ।

गठवन्धन दल ‘पर्ख र हेर’मा
स्थानीय तह निर्वाचन मिति घोषणालाई लिएर सत्ता गठवन्धन दल भने अझै अन्योलमा देखिएका छन् ।
प्रमुख प्रतिपक्षी दलले निर्णयको स्वागत गर्दै तयारीमा जुटेको बताइरहँदा गठवन्धनभित्रैका दलहरु भने यो विषयमा खुलेर बोल्न चाहेका छैनन् ।
नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)ले सरकारको निर्णयबारे औपचारिक धारणा बनाइसकेका छैनन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाकै दल नेपाली कांग्रेसपनि ‘पर्ख र हेर’कै अवस्थामा देखिएको छ ।

चाहिने १२०, पायो ९५ दिन

निर्वाचन आयोगले निर्वाचन तयारीका लागि १२० दिनको समय मागेपनि सरकारले आयोगलाई ९५ दिनको मात्र सुविधा दिएको छ ।
यद्यपी सरकारले दिएको समय तयारीका लागि कम भएपनि सफलतापूर्वक निर्वाचन गराउने प्रतिवद्धता आयोगले जनाएको छ ।
प्रमुख आयुक्त थपलियाले भने, ‘निर्वाचन तयारीका लागि सामान्यतया १२० दिनको समय चाहिने भए पनि अहिले हामीसँग ९५ दिनको समय छ । छोटो समय भए पनि आयोगले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउनेछ ।’

साधनाको इन्ट्रीदेखि, गाउँमा सिंहदरवारसम्म

नेपालमा स्थानीय तहको पहिलो निर्वाचन २००४ जेठ २९ गते काठमाडौं म्युनिसिपालिटी प्रारम्भ भएको इतिहास छ । नेपालको संविधान जारी भएपछि गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति नाम कायम गरिएको छ ।
२००४ सालमा भएको काठमाडौं म्युनिसिपालिटीको निर्वाचनपछि नगरपालिका निर्वाचन २०१० भदौ गते भएको थियो । त्यसैगरी स्थानीय निर्वाचन २०१४ माघ ७ मा, गाउँ पञ्चायत निर्वाचन २०१८ फागुन ७ देखि विभिन्न मितिमा सम्पन्न भएका थिए ।
काठमाडौं म्युनिसिपालिटीको २०१० सालमा भएको निर्वाचनमा वडा नं ८ बाट साधनादेवी प्रधान प्रथम निर्वाचित जनप्रतिनिधि बन्न सफल भएकी थिइन् ।
स्थानीय तह निर्वाचनकारूपमा २०३९ वैशाख २८ र ३१ तथा जेठ ३ र ४ गते गाउँ पञ्चायत तथा नगर पञ्चायत, २०३९ असार २ गते जिल्ला पञ्चायत, २०४३ साल चैत ७ र १० गते गाउँ पञ्चायत तथा नगर पञ्चायत एवम् २०४४ साल वैशाख २६ गते जिल्ला पञ्चायतको निर्वाचन भएको इतिहास छ ।
२०७२ सालमा नेपालको संविधान जारी भएपछि पहिलो पटक २०७४ वैशाख ३१, असार १४ र असोज २ गते निर्वाचन भयो । निर्वाचनमा ५७ राजनीतिक दलले भाग लिएकामा १८ राजनीतिक दलको स्थानीय तहमा प्रतिनिधित्व रह्यो ।

प्रतिक्रिया दिनुहोस्