माओवादी विभाजन हुँदा प्रतिक्रियावादीलाई फाइदा : अध्यक्ष प्रचण्ड



काठकाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी विभाजित हुँदा प्रतिक्रियावादीलाई फाइदा र जनतालाई ठुलो घाटा हुने बताएका छन् ।

माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेको भन्दै ठूलो परिवर्तनका बाहकहरू विघटन वा विभाजन तिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा र जनतालाई धेरै ठूलो घाटा हुने बताएका हुन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा जुम्ला जिल्ला इन्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’ लगायतलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताएका हुन् ।

साथै उनले परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्ति एकजुट हुनु आवश्यक रहेको अध्यक्ष प्रचण्डको भनाई थियो । यस्तै प्रचण्डले अहिले विस्तारै विभाजनका घाउहरू बिर्सिदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादीहरू एकठाउँमा केन्द्रित हुँदै गएको पनि बताएका छन् । 

अध्यक्ष प्रचण्डले पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडि ठूलो दीर्घकालीन रणनीति पनि हुन्छ भन्ने कुरा बुझ्नु पर्ने भन्दै यही कुरा नबुझ्दा विगतमा माओवादी फुटेको भन्दै उनले पछि कुरा बुझेकाहरू पार्टीमा फर्किन थालेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्