चट्याङ परेर आगजनी हुँदा ३९ घर सखाप



बाँके : बाँकेको डुडुवा गाउँपालिकामा बुधबार आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन्। डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए।

चट्याङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो सुरु भएको थियो। आगलागीका कारण लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ। घटनामा घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए।

उनले आगजनी पीडितलाई राहत वितरणको तयारी गरिएको बताए। यसैगरी बाँकेकै खजुरा गाउँपालिका–६ सिमलघारीमा पनि आज चट्याङपछि  स्थानीय गोरख विकको घरमा आगलागी भएको छ।

आगलागीबाट अन्नपात लत्ताकपडा जलेर नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए। स्थानीय, प्रहरी र नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया दिनुहोस्