कमल थापाको मागसम्बन्धी छलफल गर्न राप्रपा पदाधिकारी बैठक बस्दै



काठमाडौं । राप्रपाकाे पदाधिकारी बैठक आज (मंगलबार) बस्ने भएको छ। पूर्वअध्यक्ष कमल थापाको मागसम्बन्धी छलफल गर्न दिउँसो ३ बजे पार्टी कार्यालयमा पदाधिकारी बैठक बस्न लागेको हो।

राप्रपाको महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको भन्दै थापाले पार्टीभित्र छानबिनको माग गरिरहेका छन् । उक्त विषयमा छानबिन हुने कि नहुने भन्ने विषय टुंगो लगाउन पूर्वअध्यक्ष थापाले सोमबार आफूनिकटका नेताहरूसँगको छलफलपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई अल्टिमेटम दिएका थिए। छलफलका क्रममा अन्तिम विकल्प विभाजन हुने भन्दै थापाले अध्यक्ष लिङ्देनलाई निर्वाचनको मिति घोषणा गर्नुअघि निर्णय लिन अल्टिमेटम दिएका थिए। थापाले अल्टिमेटम दिएको ३ घण्टा बित्न नपाउँदै सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको थियो । थापाले अल्टिमेटम दिएको भोलिपल्ट राप्रपाको पदाधिकारी बैठक बसेर यसबारे छलफल हुन लागेको महामन्त्री कुन्तिकुमारी शाहीले जानकारी दिइन् ।

शाहीका अनुसार पूर्वअध्यक्ष थापाको माग सम्बोधन गर्ने विषयमा छलफल गरी पार्टीको एकता जोगाउने जिम्मा अध्यक्षको हातमा आइपुगेको छ। काठमाडौंमा आफूनिकट नेताहरूसँग छलफल गरेर थापा भने हेटौँडा गएका छन् । अध्यक्ष लिङ्देन पक्ष भने निर्मल निवासको हस्तक्षेपको विषयमा पार्टीमा छलफल हुन नसक्ने बताउँदै आएको छ ।

पार्टीको महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप नभएको र अनावश्यक रूपमा पूर्वराजालाई विवादमा ल्याउने गरी पार्टीमा छलफल हुन नसक्ने संस्थापन पक्षको दाबी छ । यता पूर्वअध्यक्ष थापा पार्टीबाट विद्रोह गरी नयाँ पार्टी बनाउने अन्तिम चरणमा छन् । त्यसका लागि उनले आन्तरिक छलफललाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्