प्राधिकरणले गर्‍यो सिंहदरबारको रेट्रोफिटिङ गर्ने तयारी



 

काठमाडौं :   राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सिंहदरबारको रेट्रोफिटिङ (प्रवलीकरण) गर्ने तयारी गरेको छ । 

 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख एवम् सहसचिव राजुमान मानन्धरले मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारको पुनःनिर्माण नभई रेट्रोफिटिङ गर्ने तयारी गरिएको जानकारी दिएका हुन् ।

 

आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सिंहदरबारको रेट्रोफिटिङका लागि केही दिनमै आवश्यक निर्णय लिने पनि स्पष्ट पारे । भूकम्पले सिंहदरबारको मूल भवन ध्वस्त नभई केही भाग चर्किएको प्राधिकरणको दावी छ ।

 

प्राधिकरणले काष्ठमण्डपको पुनःनिर्माणको कामलाई पुसबाट सुरु गर्ने पनि जनाएको छ । प्राधिकरणका सहसचिव मानन्धरले काष्ठमण्डप पुनः निर्माणको काम पुसबाट सुरु हुने बताए । उनले काठमाडौं महानगरपालिकाले आर्थिक चलखेल गर्ने चर्चा भएपछि त्यसको पुनः निर्माणको लागि उपभोक्ता समितिनै गठन गर्नुपरेको पनि स्पष्ट पारे । प्राधिकरणले सर्वोच्च अदालतले आदेश दिएसँगै रानीपोखरी पुनःनिर्माणको काम अघि बढाउने बाटो खुला भएको पनि जनाएको छ ।

 

प्राधिकरणले भूकम्पले क्षति पुर्याएको सम्पदा तथा सार्वजनिक भवन पुनःनिर्माणको काम २ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । हालसम्म १६ वटा सार्वजनिक भवन पुनःनिर्माणको काम सम्पन्न गरिएको र बाँकी २ सय ३० वटा भूकम्पले क्षति पुर्याएको सार्वजनिक भवन पुनःनिर्माणको काम पनि तोकिएकै समयभित्र सम्पन्न गर्ने पनि सहसचिव मानन्धरले दावी गरे । 

प्रतिक्रिया दिनुहोस्