पोलेको घाउः ज्यान होइन, मन दुख्छ !



काठमाडौं । अलि ठूलो आगोको छेउमा बस्दा रापले त पोल्छ । त्यसमाथि आगोनै जिउमा लाग्दाको पीडा भोग्नेलाई मात्र थाहाँ हुन्छ । ‘समाजबाट लुकेर अँध्यारो कोठामा बस्नुपर्दा, कतै बाहिर निस्कदा आफूलाई हेर्देै आँखा छोप्दा, गुडिरहेको बस रोकेर पनि नचढाई अलपत्रै पार्दा आगोले जल्दै गरेको समयमा भन्दा बढी पोल्छ,’ विराटनगरकी ३३ वर्षीया त्रिशला बिडारीलाई ।

आगोबाट जलेपछि आफ्नो अनुहारलाई अभिभावकले समेत नियाल्न डराउँदा पटकपटक मरेको अनुभूति हुने उनले दुःखेसो पोखिन् । काठमाडौंको प्रसूति गृहको एक कुर्सीमा आँखाबाहेकका सबै भाग गलबन्दीले ढाकेर बसेकी त्रिशला अनुहार निकै भयानक देखिन्थ्यो ।

आफूलाई समाजबाट पनि अपहेलित महसुस गर्ने उनी करिब पाँच वर्षको अवधिसम्म एक अँध्यारो कुनाबाट यसपटक स्वास्थ्योपचारका लागि बाहिर निस्किएकी हुन् । पाठेघरको मुखमा समस्या देखिएपछि बाध्यताबस उनी उपचारका लागि बाहिर निस्किएको बताउँछिन् ।

विवाह भएको वर्षदिन नपुग्दै ग्यास लिक भएर आफू जल्न पुगेको उनले बताइन् । ‘सासू, ससुरा, नन्द, देवर सबैको सहमतिमा पतिको अर्काे विवाह भयो । आगोबाट आफूलाई बचाउन धेरै कोसिस गरेकी थिएँ । मेरो रूप बिग्रिएपछि मलाई माइतीको जिम्मा लगाइदिए ।’ उनले आफू जस्तै जलेर नाजुक अवस्थामा पुगेकाहरूको बोलीको सुनुवाइ कतै नहुने गरेको उनले बताइन् ।

उनी त एक उदाहरण मात्र हुन् । नेपालमा यसरी दाइजो, एसिड काण्ड र विभिन्न बहानामा जलेर आफ्नो सुन्दरता गुमाएका महिलाहरू धेरै छन्। होटलमा खाना बनाउँने क्रममा मट्टीतेल खनिएर शरीरमा आगो लाग्दा मोरङको बेलबारी की २६ बर्षीया कुश्मा श्रीवास्तवको आधा शरीर जल्यो। अनुहारसहित शरिरका अधिकांश भाग आगोले जलेर गम्भीर अवस्थामा पुगेकी कुश्मालाई जलनको पीडा त छदैथियो त्यसमाथि उनलाई उपचार गराउन नसकी घरैमा राख्नुपर्दा उनको परिवारलाई पनि कम पीडा थिएन ।

कम्मरभन्दा माथिको अधिकांश भाग जलेकी कुश्मालाई सुरुमा धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको भएपनि त्यहा सामान्य उपचार गरी थप उपचारका लागि काठमाण्डौं रिफर गरियो । तर, पैसा नभएका कारण काठमाण्डौ जान नसकेपछि उनी घरमै बसेकी थिइन् । ४ बर्ष अगाडी आगोले पोलेर उपचार गर्न नसकेर तड्पिरहेको कुश्माको परिवारको पीडा काठमाडौ नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले थाहा पाएर उनीहरुको घरैमा पुगी कृुुश्मालाई निःशुल्क उपचारका लागि नोबेल अस्पताल ल्याए ।

७ महिनाकी गर्भवति रहेकी कुश्मा यतिखेर थापाथलिमा रहेको प्रस्सुती गृहमा नियमित चेकजाचको लागि आएकी छिन् । आगोले जलेपछि जिन्दगीनै सकियो जस्तो लागेको थियो , तर परिवार र श्रीमानको साथले आफूमा हिम्मत बढेको उनको भनाई छ । आफ्नो मोवाइलको हसिलो तस्विर देखाउँदै कुश्मा भन्छिन् ‘यि हेर्नुस न जल्नु अगाडी म कति राम्री थिए ।’आगोमा जलेपछि भने कुश्मालाई तस्विर खिचाउँन, चाडपर्वमा मेलाहरुमा जान, कसैलाई भेट्न मन लाग्दैन उनलाई ।

कुश्मा भन्छिन् ‘गाउँघरमा जादापनि मेरो आगोले पोलेको अनुहार देखेर मान्छेहरु बोल्नै खोज्दैनन्, आफ्नो बच्चाहरु छेउँमै आउन दिदैनन् त्यो बेला असाध्यै पिडा हुन्छ ।’ अहिले काठमाडौमा नै बस्दै आएकी कुश्मामा पति गाडी चलाउछन् भने कुश्मा घरमै बसेर गुडियाहरु बन्ने काम गर्छिन् । राम्रो कुक रहेकी कुश्मालाई एकदुई ठाउँमा जागिर खानपनि गईन तर उनको क्षमता भन्दापनि जलेको अनुहार हेरेर जागिर दिन इन्कार गरेपछि घरमै गुडिया बनाउने काम सुरु गरेको कुश्मा बताउछिन् ।

दाङकी रमिता चर्मकारले पनि २० बर्षको उमेरमा आफ्नो सुन्दरता र आत्माबल गुमाउनु प¥यो । प्रेम प्रस्ताव नस्वीकारेको भन्दै एक व्यक्तिले ५ वर्षअघि उनको अनुहारमा एसिडको बोतल फालेका थिए । ‘बायाँ गाला बचाउन सके पनि दायाँ गाला बचाउन सकिनँ । निकै पोलेको थियो । प्रेम दिवसको दिन उनको प्रेम प्रस्ताव स्वीकारिन । कक्षा सकिएपछि म घर जाँदै थिएँ,’ उनले भनिन्, ‘एक्लो भएको मौकामा मलाई एसिडको बोतल खन्याइयो । केही समयका लागि जेलमा राखे पनि अहिले सो अपराधी खुलेआम गाउँमै घुमिरहेको उनले बताइन् ।

अहिले राज्यले विभिन्न गम्भीर रोगका बिरामीको उपचारका लागि लाखौं रुपैयाँ बजेट छुट्याएको छ । एसिड आक्रमण भन्दा अन्य विभिन्न कारण जलेर घाइते भएका बिरामीका लागि भने दैनिकी गुजार्नका लागि सामान्य राहत स्वरूपसमेत सरकारले कुनै रकम छुट्याएको पाइँदैन । यस्ता बिरामीको लागि निःशुल्क उपचारको समेत व्यवस्था गरिएको छैन । सोही कारण पनि यस्ता बिरामीहरुले मानसिक सन्तुलन गुमाउनुका साथै बाध्य भएर आत्महत्या गरिरहेको मनोविद् सुमन पन्थ बताउँछन् । उनी भन्छन् ‘आगोले पलेका ३० प्रतिशत बिरामीहरुमा विभिन्न मानसिक समस्याहरु देखिने गरेको छ ।’ घर, समाजमा गर्ने विवेद,आफूले आफैलाई स्वीकार गर्न नसक्नु, मनोवल घट्दै जानु, रोजगारीको अवसर नपाउनुले गर्दा विरामीलाई मानसिक समस्या देखिने गरेको पन्थको भनाई छ । जलेका बिरामीहरुलाई सरकारले निशुल्क उपचार गराएर रोजगारीको व्यवस्था गर्देै उनिहरुको मनोबल बढाउन पहल थाल्नु पर्ने पन्थ बताउछन् ।

प्रतिक्रिया दिनुहोस्