‘सुदुर पश्चिमको राजधानी गोदावरी नै उपयुक्त’



कैलाली : नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशको राजधानी सबै दृष्टिकोणलले गोदावरी नै उपयुक्त भएको धारणा राखेका छन् । प्रदेश सरकारकाले सीमाको सुरक्षा, भौगोलिक दृष्टिकोणलगायतलाई मध्यनजर गर्दै उपयुक्त ठाउँमा राजधानी तोकेको उनको भनाई छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठनले तिहारको अवसरमा धनगढी आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले जंगल मासेर राजधानी बनाउने विषय हल्ला मात्र भएको दावी गरे । 

कैलालीको गोदावरी क्षेत्र बुट्यान भएको क्षेत्र भएकाले एउटा पनि रुख नकाटेरै राजधानी बनाइने उनको तर्क थियो । 

प्रदेश सरकारले प्रदेश राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय यसअघि नै गरिसकेको छ । राजधानीको विषयलाई लिएर कैलालीमा आन्दोलन समेत भएको थियो ।

एक अर्को प्रसंगमा नेता रावलले कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्नको खोजीका लागि सरकार गम्भीर भएर लागेको बताए । जुन सुकै निकायको व्यक्ति भए पनि सार्वजनिक गरेर नै छोड्ने उनले दावी गरे । 

उनले विभिन्न प्रसंग उठाउँदै नेपालमा अस्थिरता कायम राख्ने प्रयासलाई जनताले साथ नदिने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्